४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालकाे गाेवा कार्यतालिका

गोवा- भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल गाेवा  आइपुगेका छन्।  सम्मेलनमा भाग लिन उनी नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा पुगेका हुन्। 

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल तथा गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गरे।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सि जिन पिङ र भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ। रासस

प्रकाशित: २९ आश्विन २०७३ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App