२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

नेताको दसैं सदुपयोग

स्थानीयसँगै निर्माणाधी पुलको अनुगमन गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्का। तस्बिर: कलेन्द्र

सुर्खेत- दसैंको बहानामा विकास–निर्माण निरीक्षण। राजधानीमा राजनीतिक धपेडीबाट थाकेका नेतालाई दसैं बिदा सदुपयोग गर्ने यो राम्रो अवसर हुनसक्छ।

कांग्रेस नेता एवं सुर्खेत क्षेत्र नं. १ का सभासद पूर्णबहादुर खड्काले यसपटकको दसैंलाई यसैगरि सुरु गरे। टीकाको करिब एक साताअघि गृहजिल्ला आइपुगेका उनी भोलिपल्टै (शुक्रबार) आफ्नो निर्वाचन क्षेत्रमा पुगे। र, त्यहाँ भइरहेको विकास निर्माण कार्यको निरीक्षण गरे। उनी स्थानीयसँग भेरीको बगरैबगर हिँडे। त्यसको उद्देश्य थियो– भेरीनदीमा निर्माणाधीन पुलको निरीक्षण।

भेरी नदीको मेहलकुना र घुमखहरेमा निर्माणाधीन पक्की पुल र गोचेखोलामा निर्माणाधीन अर्को पुलबारे उनले स्थानीय तथा सरोकारवालासँग जानकारी लिए । मालारानी–पुरनधारा जोड्ने सडकको पनि अनुगमन गरे । ‘दसैंलाई शुभकामना आदानप्रदान गर्ने अवसरमात्र होइन, विकास निर्माणको अध्ययन–अवलोकन गर्ने  अवसरको रुपमा पनि प्रयोग गर्नुपर्छ भनेर उहाँ गाउँमा पुग्नुभयो,’ नेपाली कांग्रेसका शुभाघाट गंगामाला नगर सभापति हस्तबहादुर पुनले भने, ‘यसले गर्दा हामीलाई पनि विकासप्रति थप चासो बढाएको छ।’

                पूर्वगृहमन्त्रीसमेत रहेका खड्कालाई स्थानीयले घुमखहरे पुलको निर्माणमा भइरहेको ढिलाईप्रति गुनासो गरेका थिए । ‘पछि निर्माण सुरु भएको मेहलकुनाको पुलको काम धेरै अघि बढिसक्यो,’ स्थानीयको गुनासो थियो, ‘घुमखहरेको पुल भने म्याद गुज्रिदासमेत बन्नसक्ने छाँटकाँट छैन।’

                खड्काले यही अवसरमा २००७ सालको क्रान्ति लडेका योद्धा खड्कबहादुर तारम मगरलाई उनको घर फलाँटेमै पुगेर भेटघाट गरे। उनी ऐतिहासिक क्रान्ति लड्ने सुर्खेतको एक्लो जीवित योद्धा हुन्।

 

 

 

प्रकाशित: २४ आश्विन २०७३ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App