१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्। प्रेस सेन्टर नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै दललाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका हुन्। तर त्यस्तो व्यक्ति पछिल्लो परिवर्तन, गणतन्त्र, धर्म निरपेक्षता र संविधानप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ।

महासचिव गुरुङले मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुनसक्ने खतरा रहेकाले त्यसबाट जोगिनपनि साझा राष्ट्रपति आवश्यक रहेकोमा जोड दिए। दलको कार्यकर्ता राष्ट्रपति हुँदा हिजोका दिनमा गणतन्त्र र संविधानमाथि नै खतरा उत्पन्न भएकाले अबका दिनमा त्यस्ता खतरा नदोहोरियोस् भन्नका लागि साझा व्यक्तिको खोजी गरिएको उनले जिकिर छ। ‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्न आवश्यक छ,’ उनले भने।

महासचिव गुरुङले राष्ट्रपति चयनमा सत्ता पक्ष र विपक्ष भनेर विभाजित हुन आवश्यक नरहेको जिकिर गरे। ‘सत्तापक्ष र विपक्षको रूपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भयो भने त्यस्तो परिकल्पना नगरिएको राष्ट्रपति पदमा सहमति हुननसक्ने कारण छ र?,’ उनले भने। उनले दलबाहेकबाट राष्ट्रपति बनाउन भने नसकिने स्पष्ट पारे। उनले भने, ‘जुनसुकै दलबाट राष्ट्रपतिमा प्रस्ताव आएपनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आफूहरूको स्पष्ट अडान छ।’

फरक प्रसंगमा महासचिव गुरुङले गणतन्त्र र संविधानलाई आत्मसाथ नगर्ने पूवराजा ज्ञानेन्द्रको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको बताए।

प्रजातन्त्र दिवसको अघिल्लो दिन साँझ पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरू र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका थिए। सोही विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले देशमा भएको परिवर्तनलाई आत्मसाथ गरेका छैनन्। गणतन्त्र र संविधानलाई आत्मसाथ गरेका छैनन्। यो आत्मसाथ नगरेसम्म पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य सम्भव छैन।’

उनले सहकार्यका लागि समान धारणा हुन जरुरी रहेको तर दलहरू र राजसंस्थाबीच त्यस्तो धारणा समान नभएको बताए। ‘सहकार्यका लागि त डेमोक्रेसीको रक्षा, संविधानको रक्षाका लागि सहकार्य हुनुपर्‍यो,’ उनले भने, ‘अहिलेको संविधानलाई, गणतन्त्रलाई, परिवर्तनलाई आत्मसाथ गर्न जरुरी छ। तर उहाँ त डेमोक्रेसीलाई निषेध गर्न खोज्ने। राष्ट्रियताको मात्रै कुरा गर्ने गर्नुहुन्छ। यो त कोरा राष्ट्रवाद हो। कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन भन्ने कुरा पुष्टि गर्दै आएको छ।’

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App