९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रजातन्त्र दिवसमा कसले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २००७ साल फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन्। २००७ को कात्तिक २६ देखि सुरु भएको जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ। ‘राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो,’ सन्देशमा भनिएको छ, ‘मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो।’ समृद्धिको सपना, समावेशिताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी भएको देउवाको दाबी छ। ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्नेछ,’ भनिएको छ।  

त्यस्तै, एमाले अध्यक्ष केपी ओलीले पनि शुभकामना सन्देश जारी गर्दै जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको ऐतिहासिक दिनकारूपमा स्मरण गरेका छन्। समाज, राजनीति र शासन प्रणालीमा जहानिया निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको ओलीले जनाएका छन्। संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको एमाले नेतृत्वको सरकारले गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको बेलामा संविधानको गतल व्याख्या गरेर आफ्नो नेतृत्व सरकार हटाएको ओलीले जनाएका छन्। ‘संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्‍याइएपछि अवरुद्ध हुनपुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रूपमाअगाडि बढाउन चाहन्छौं,’ ओलीको सन्देशमा भनिएको छ। संविधानको व्यवस्थाविपरीत पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए।

त्यस्तै, तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारूपीजनताको नासो जनतालाई नै बुझाएको जनाएका छन्। विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधी मूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागतयोग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निरास लाग्दो आर्थिक शिथिलता र सामाजिक बिग्रहको चपेटामा नेपाल फसेको ज्ञानेन्द्रद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ।  

प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षा सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तरनिहीत रहेको जनाउँदै अहिलेको अवस्था धेरै अवधि नरहने जनाएका छन्। ‘विगत वीस वर्षमा दशौं लाख युवाहरू विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ,’ ज्ञानेन्द्रद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनीतिक तथा सामाजिक रूपले दबाब दिनसक्ने युवा शक्तिबाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाईसन्चो भएको ज्ञानेन्द्रले आरोप लगाएका छन्। तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निरास रहेको भन्दै उनले भनेका छन्, ‘देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छ।’  

देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका फसेको जनाउँदै भनिएको छ, ‘नेपालको सार्वभौमिक परिचयमा नै आँच आउनेगरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय  भएको छ।’ प्रतिकूल पलमा पनि सम्यमता र देशभक्ति नगुमाएको र देश छोडेर पनि नगएको भन्दै देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उल्लेख गरेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७९ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App