५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नजिकिँदै नयाँ राष्ट्रपतिको निर्वाचन: माओवादी केन्द्रमा दुई धार

फाइल तस्बिर।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्। माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ। माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्। जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।  

‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ। त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ। अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने। ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन्।

माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्। सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझावसमेत आएको माओवादीका ती पदाधिकारीको दाबी छ।

निर्वाचन आयोगले फागुन २५ का लागि राट्रिपतिको चुनाव मिति तोकेको छ। राष्ट्रपति निर्वाचनका लागि निर्णायक मत बोकेर बसेको माओवादी केन्द्रले मात्रै राष्ट्रिय सहमतिको कुरा गरिरहेको छ। एमालेले सत्ता गठबन्धनकै बेला आफ्नो भागमा परेको भनेर आफ्नै उम्मेदवार राष्ट्रिय सहमतिको उम्मेदवार हुने बताइसकेको छ। कांग्रेसले पनि आफ्नो दलका नेताहरूलाई उम्मेदवार उठाउने भने पनि औपचारिक निर्णय गरिसकेको छैन। अन्य दलहरू भने जसको पल्लाभारी हुन्छ, उतै लाग्ने अवस्थामा छन्।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अन्तिम समयसम्म राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने बताए। उनले एमालेसहितको राष्ट्रिय सहमतिको खोजी गर्ने, त्यसो नभए फागुन १३ गते बैठक बसेर एउटा निर्णय लिने बताए। ‘राष्ट्रिय सहमति भनेको एमालेसहितको हो। एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति खोज्ने होइन। माओवादीले अन्तिम समयसम्म सहमतिको पहल गर्छ। सहमति नजुटे मात्रै बैठक बसेर निर्णय गर्नेछ,’ सचिव पौडेलले भने। उनका अनुसार एमालेले अघि सारेको व्यक्तिलाई पनि राष्ट्रिय सहमति जुटाउन सकिनेछ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर दुई धार देखिएपछि एउटा पक्षले राजनीतिक व्यक्ति नै राष्ट्रपति हुने र अर्को पक्षले स्वतन्त्र व्यक्तिको खोजी गर्नुपर्ने आवाज उठाउँदा पार्टीभित्र अध्यक्ष दाहाल दबाबमा परेका छन्। ‘बाहिर जे धारणा आए पनि पार्टीमा दुई धार देखिँदा अध्यक्ष निकै दबाबमा हुनुहुन्छ,’ स्रोतले भन्यो। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एकातिर गठबन्धन जोगाएर जाने अर्कातिर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने चुनौती रहेको स्रोतले बतायो। अहिलेको अवस्थामा गठबन्धनभित्र एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहालबीचको सम्बन्धमा पनि दुरी बढेको बताइएको छ। गत साता बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि एमाले अध्यक्षले पहिला नै सहमति भएको विषयमा थप छलफल हुनु आवश्यक नभएको बताएका थिए भने दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिएका थिए। त्यसले गर्दा उनीहरूबीचको सम्बन्धमा पनि दरार आएको आशंका गरिएको छ।  

एमाले मौन  

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले पुस १० कै सहमति कायम रहेकाले थप केही बताउनुनपर्ने स्पष्ट पारेको छ। गत माघ २६ मा बसेको एमाले सचिवालय बैठकले सत्ता गठबन्धनमाथि षड्यन्त्र हुन थालेको निष्कर्ष निकाले पनि त्यसमा आबद्ध दलहरूप्रति कुनै नकारात्मक टिप्पणी गरेन। एमाले सचिवालय बैठकले सत्ता गठबन्धनभित्र उत्पन्न अविश्वासले चुनौती खडा गरेको जनाउँदै गठबन्धन र सरकार फुटाउन षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको थियो।

एमालेको नेतृत्वको सुदूरपश्चिम सरकार ढलेपछि सरकार र गठबन्धन दुवैमा संकट आएको भन्दै यसलाई जोगाएर लान खोजेको छ। ‘सरकार, सत्ता गठबन्धन र अन्य दलहरूबारे टिप्पणी गर्नुपर्ने आवश्यकता छैन,’ एमालेका एक पदाधिकारीले भने। खासगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले विश्वासको मतका मामिलामा धोका दिएपछि एमाले बढी नै झस्किएको थियो। एमालेले आफूमाथि गत चुनावअघि जस्तै घेराबन्दी भइरहेको र नयाँ गठबन्धन बन्न सक्ने आशंकासमेत गरिएको छ। एमालेले सरकार, गठबन्धन र राष्ट्रपतिको विषयमा घेराबन्दी गर्न खोजिएको आशंका गरे पनि कोहीकसैलाई पनि नकारात्मक टिप्पणी र गालीगलौज नगरी बस्ने नीति अख्तियार गरेको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App