७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन्।  मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए।

उनले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए।  

उनले भने, ‘यो मुलुकमा एउटा बिडम्बनापूर्ण अवस्था छ। त्यसमा अनेरास्ववियु कतै पछाडी प¥यो कि? जतिबेला मुलुकको बुर्जुवाहरु शासनमा हुने गर्छन्। यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन्। बुर्जुवाहरुले जतिसुकै राष्ट्रलाई बर्बाद पारेपनि उनीहरु सडकमा आउने गर्दैनन्। तर जतिबेला देश र जनताको हीतको पक्षमा, परिवर्तनका हीतका पक्षमा, काम गर्ने पार्टीका रुपमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्नेगर्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ। त्यतिबेला अनेरास्ववियु सडकमा देखिनुपर्ने हो देखिने गरेको छैन। अबको अनेरास्ववियु यथास्थितिवादको पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु, जसले समाजको परिवर्तन र विकासलाई रोक्नकालागि भुमिका निर्वाह गर्ने गर्छन्। त्यसका बिरुद्ध  वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियु आजको आवश्यकता हो भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु जरुरी छ।’

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताए। उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गरे। इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उनको भनाई छ।

उनले भने, ‘कुनैपनि राष्ट्रको भविष्य त्यसको इतिहास र त्यसको संस्कृतिको जगमा अडिएको हुन्छ। जब त्यसको इतिहासमाथि, त्यसको सांस्कृतिक मूल्यमाथि आक्रमण हुनेगर्छ। त्यो राष्ट्र कमजोर हुनेगर्छ। आज अनेरास्ववियुका योद्धाहरु हाम्रो समाज, संस्कृति, सांस्कृतिक मूल्य, मान्यताका पक्षमा, त्यसका रक्षाको पक्षमा उभिनसक्ने दस्ताका रुपमा खडा हुनु जरुरी छ। आज हाम्रो समाजमा धार्मिक अतिवादका नाममा, धर्मान्तरका नाममा, नेपाली सांस्कृतिक मूल्यमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यसका बिरुद्धको योद्धाको रुपमा अबको अखिल आन्दोलन खडा हुनुपर्छ। त्यसले राष्ट्रलाई सुरक्षित गर्ने काम गर्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ।’

उनले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताए। देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उनले बताए।  

प्रकाशित: २ फाल्गुन २०७९ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App