काठमाडौं– गत जेठमा १० वटा कम्युनिस्ट घटकको एकीकरणपछि नेकपा माओवादी केन्द्रले पहिलोपटक आउँदो कात्तिक १० र ११ गते राष्ट्रिय भेला गर्ने भएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले पार्टीको संगठनात्मक योजना तथा चैैतमा हुने स्थानीय निकायको तयारीका लागि ठोस नीति बनाउन भेला आयोजना गरिएको बताइन् । सोमबार सम्पन्न सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव अनुसार भेलाको मिति तय गरिएको हो ।
उक्त बैठकमा बोल्ने अधिकांश सचिवालय सदस्यले नेतृत्वले ठोस योजना र नीति बनाउन नसक्दा माओवादी दिनप्रतिदिन कमजोर भइरहेको गुनासो गरेका थिए ।
पार्टीलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन सुहाउँदो केन्द्रीय समिति बनाउनुपर्नेमा जथाभाबी शैलीमा केन्द्रीय सदस्यको संख्या थपेर २४ सय पु¥याइएकोमा नेतृत्वको आलोचना भएको एक सचिवालय सदस्यले बताए । बैठकमा बोल्दै कतिपय सदस्यले दाहालको भारत भ्रमणबारे प्रश्न उठाएका थिए । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त विज्ञप्तिमा दाहालले हस्ताक्षर गरेको १० र ११ नम्बर बुँदामा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भारतको समर्थन जनाउने शब्द उल्लेख भएकोमा विरोध प्रष्ट पार्न माग गरे ।
दाहालले भने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएअनुसार भाषागत समस्याबाहेक अन्य कुनै नियत नभएको बताएका थिए । दाहालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘भारत भ्रमण निकै उपलिब्धपूर्ण भएको र भाषालाई भने केही राम्रो पार्न सकिनेलाई उहाँले पनि स्वीकार गर्नुभयो ।’ भेलामा देशभरका करिब ३ हजार नेता÷कार्यकर्ताले सहभागी हुने अवसर पाउनेछन् ।
प्रकाशित: ११ आश्विन २०७३ ०१:४९ मंगलबार