२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योजनाविहीन वैद्य माओवादी

वैद्य माओवादीका नेताहरू



काठमाडौं–  प्रश्न नम्बर १ः आउँदो चैतमा स्थानीय निर्वाचन भइहाल्यो भने भाग लिनु हुन्छ या हुँदैन ? नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जवाफ फर्काए– त्यतिबेला कस्तो परिस्थिति आउँछ । चुनावमा भाग लिने÷नलिने त्यसमै भर पर्छ ।
 

प्रश्न नम्बर २ः कतिपय व्यक्तिले वैद्य माओवादी पुनः सशस्त्र युद्धमा फर्कन्छ भन्दैछन् । युद्ध थाल्ने सम्भावना छ ? नागरिक संवाददाताको प्रश्नमा अध्यक्ष वैद्यले पुनः जवाफ दिए– ठोस आधार बन्यो भने युद्ध सुरु गर्छौैं ।

१० वर्षे सशस्त्र माओवादी युद्धका मुख्य योजनाकारमध्ये एक नेता मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीको यो पछिल्लो अवस्था हो । अर्थात् यतिखेर वैद्य माओवादी अब कसरी अघि बढ्ने भन्दै दोसाँधमा पुगेको प्रणाम हो । अबको कार्यदिशमा पार्टीले के गर्ने र के नगर्ने खुट्टयाउन सकेको छैन । केही दिन अघि अध्यक्ष वैद्यसहित वरिष्ठ नेता सिपी गजुरेल, हरिभक्त कँडेल लगायतलाई अबको पार्टीको रणनीतिक के भनेर पटकपटक सोध्दा उनीहरू अमललमा देखिए ।

अध्यक्ष पुष्पकमल दाहाल संसोधनवादी र पुराना (जनयुद्धकालीन) मुद्दा बिर्सिएको भन्दै तत्कालीन एकीकृत माओवादीबाट ठूलो संख्याका नेता, कार्यकर्ता लिएर छुट्टिएको वैद्य माओवादीको अवस्था र राजनीतिक हैसियत दिनप्रतिदिन नाजुक बन्दै गइरहेको कार्यकर्ताले गुनासो गर्न थालेका छन्  । गत जेठमा आधा भन्दा बढी केन्द्रीय सदस्य तथा कार्यकर्ता पुनः पुरानै दलमा फर्केपछि यतिखेर उक्त पार्टी कसरी अघि बढ्ने र कुन मुद्दा उठाउने भन्नेबारेमा समेत  अन्योल सृजना भएको छ ।

विगतमा पार्टीले उठाउँदै आएका मुद्दामा समेत पार्टीभित्रै द्विविधा बढ्न थालेपछि कार्यकर्ताले नेतृत्व तहलाई ठोस योजना बनाउन पटकपटक दबाब दिँदै आएको एक कार्यकर्ताले बताए । ‘संकटको बेला (जनयुद्धमा) पार्टीलाई चुस्त र दुरुस्त रूपमा हाँकेको व्यक्तिले नेतृत्व गरेको पार्टीको अवस्था यति कमजोर होला भनेर सोचेका पनि थिएनौं,’ एक कार्यकर्ताले भने, ‘नेतृत्व तहमा रहेका कमरेडलाई ठोस योजना र कार्यक्रम ल्याउन आग्रह गरेका ग¥यै छौं । तर, नेताहरू सधैँ पर्खन मात्र लगाउँछन् ।’ ती जिल्ला स्तरीय  नेताका अनुसार यतिखेर पार्टीको शीर्ष तहमा रहेका नेताहरूको धेरै जसो समय नेकपा माओवादी केन्द्रलाई गालीगलौज गर्नमै बित्ने गरेको छ । ‘माओवादी केन्द्र भन्दा राम्रो हुनका लागि अहिलेको आवश्यकता जनता तहमा नतिजा देखिने गरी कार्यक्रम आउनु पर्ने हो,’ उनले भने, ‘हुँदाहुँदा अहिले त पार्टी विभाजन हुँदाको बेलाका कार्यक्रम पनि देखिन छाडे ।’

सशस्त्र द्वन्द्वको बेला एक ढिक्का रहेको तत्कालीन नेकपा माओवादी यतिखेर टुक्रिएर चार वटा समूहमा पुगेको छ । गत जेठ अघिसम्म भने सोही नेकपा माओवादी टुक्रिएर ६ वटासम्ममा पुगेको थियो । जेठमा मणि थापाले नेतृत्व गरेको र मातृका यादव संयोजक रहेको समूह नेकपा माओवादी केन्द्रमा सामेल भएका थिए । सशस्त्र द्वन्द्वताका थापा र यादव माओवादीमै सक्रिय थिए । त्यस्तै अघिल्लो महिना हेमन्तप्रकाश ओलीले नेतृत्व गरेको नेकपा माओवादी नियुक्लियस नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादीमा गाभिएपछि मूल माओवादीमा परेका चिराको संख्या केही कम भएको हो । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा जति चिरा परे पनि सबैको अगुवामध्ये वैद्य एक हुन्,’ वैद्य माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘विगतको इतिहास जोगाउन पनि अब अध्यक्ष कमरेडले या माओवादी केन्द्र भन्दा पृथक योजना ल्याउनु प¥यो । नभए उतै (माओवादी केन्द्रमै) समायोजन हुने निर्णय गर्नु पर्छ ।’ पछिल्लो समयमा पार्टीमा गतिला नेता नहुँदा केन्द्रीय समितिलाई पूर्णता दिन पनि समस्या परिरहेको बताइन्छ । ९५ जनाको केन्द्रीय समिति बनाउने भनिए पनि उक्त पार्टीले अझैं केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । केन्द्रीय समितिमा अझैं ८ जना सदस्य रिक्त छन् ।

वैद्य माओवादीका नेता हरिभक्त कँडेल भने बाहिरी रूपमा हेर्दा पार्टीले कुनै काम गरेजस्तो नदेखिए पनि आन्तरिक रूपमो योजनाबद्ध ढंगले संगठन सुधारको काम भइरहेको दाबी गर्छन् । ‘धेरै पार्टीहरू सत्ता, चाकडीमा लागेको बेला हाम्रो पार्टीले आन्तरिक रूपमा गरिरहेको काम बाहिर बस्नेहरूले नदेख्लान्,’ उनले भने, ‘यतिखेर पार्टीको सिंगो टिम राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेको छ । आउँदो फागुनमा राष्ट्रिय सम्मेलन हुन्छ ।’ नेपाली जनताका आवश्यकता पूरा गर्न देशमा अर्को आन्दोलनको आवश्यकता रहेको उनको भनाइ छ  ।


 

प्रकाशित: ११ आश्विन २०७३ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App