२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनका बारेमा खुल्ला हृदय र व्यापक दायरामा सोच्नु माओवादी केन्द्रको दायित्व भएको बताएका छन्।

‘प्रधानमन्त्रीको समर्थनमा व्यापक दायरा देखा पर्‍यो, एक प्रकारको राष्ट्रिय सहमति देखा पर्‍यो’ गृह जिल्ला गोरखामा आइतबार पत्रकार भेटघाटका क्रममा उनले भने ‘राष्ट्रपतिको सन्दर्भ पनि गम्भीर जिम्मेवारी बोधका साथ सबै बसेर निष्कर्षमा पुगौँ।’

कुनै दललाई दिने वा कुनैलाई नदिने भन्ने विषय नभएको बताउँदै उनले राष्ट्रपति जस्तो गरिमामय पदमा सबै सहमति हुने परिस्थिति बन्नु राम्रो हुने बताए। ‘यो बारेमा छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ‘अहिलेको समीकरणलाई हाम्रो इच्छाले यताउता गर्ने भनेर सोच्दैन।’

राजनीतिक कामको व्यस्तताको कारणले गृहमन्त्री नियुक्त गर्ने प्रक्रिया लम्बिएको बताउँदै उनले अन्य कुनै समस्या नरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी नै सरकारबाट बाहिर रहेकाले सोही पार्टीलाई गृह मन्त्रालय दिने बारे अहिले त्यसरी नसोचिएको बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका उनले सुशासन बिना विकासको कुरा पुरा नहुने बताए। भौतिक पूर्वाधार, यातायातको क्षेत्रमा सुधार गर्न कार्य योजना बनाएर अघि बढ्न लागिएको उनले जानकारी दिए। गोरखा नगरपालिका ९ को महालक्ष्मी माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन श्रेष्ठ गोरखा आएका थिए।

प्रकाशित: २९ माघ २०७९ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App