२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

भारतसँगको सहमति मान्दैनौं: अध्यक्ष ओली

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग गरेको सहमति एमालेलाई मान्य नहुने बताएका छन्। भारत भ्रमणका बेला ९ पानामा २५ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएको कुरालाई एमालेले नमान्ने उनले बताए।

‘२५ बुँदे सहमति हामीले अस्वीकार गर्छौं । एमालेले अस्वीकार गर्नुको अर्थ त्यो सहमति नेपाली नागरिकले मान्दैनन् भन्नु हो,’ प्रदेश–४ को पोखरामा आइतबार भएको प्रथम कमिटि बैठकमा ओलीले भने, ‘कुनैपनि हालतमा हामी त्यो सहमति मान्दैनौं।’

आफु प्रधानमन्त्री भएर भारत भ्रमण गर्दा नेपालले संविधान जारी गर्नुलाई भारतले ठूलो उपलब्धि भनेकोमा अहिले त्यो नभनेको उनले बताए । ‘लिखतमा बाहेक सामान्य बोल्दा पोहोर भारतले सकारात्मक भनेर स्वागत गरेको थियो । तर, यसपटक त्यत्ति पनि शब्द भारतले भनेन,’ उनले भने, ‘पोहोर बोलेजति पनि भारतले बोलेन ।’

भारतले संविधानमा रहेको अपूर्णता सबैलाई मान्य हुने खालको समावेशी, संवाद मार्फत संविधान संशोधन गरेर पूर्णता दिने सर्वस्वीकार्य बनाउने भन्ने संविधान विरोधी कुरा गरेको उनले बताए । ‘भारतले भनेजति सबैकुरा प्रधानमन्त्री दाहालले स्वीकारेका छन् । तर, हामी मान्दैनौं,’ उनले भने, ‘हत्या, हिंसा, हतियार बोकेका दाहालले ती सबै कुरा स्वीकारेका छन् । तर, नेपालले यस्तो चाहेको होईन।’

कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले अहिलेको भारतसँग छाती जोडेर संविधानमाथि प्रश्न उठाउने गरेको काम भएको आरोप लगाए। ‘कसैलाई खुसी पार्न संविधान संशोधन गर्ने होईन,’ पोखरेलले भने, ‘संविधान संशोधन कसैलाई सत्तामा पुर्याउन हामी भर्‍याङ बन्न चाहन्नौं ।’ प्रथम बैठकमा ४ नम्बर प्रदेशका एमालेका नेता सहभागि छन् । प्रदेश कमिटिको यो बैठक पोखराबाट करिब २५ किलोमिटर टाढाको रुपाकोट रिर्साटमा संचालन हुनेछ।

 

 

 

प्रकाशित: २ आश्विन २०७३ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App