रामेछाप-नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय स्वाभिमानको अग्नि परीक्षा नजिकिदै गरेको बताएका छन।
रामेछाप सदरमुकाम मन्थलीमा नेकपा एमाले रामेछापले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता नेपालले एकीकृत नेकपा माओवादी पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको आउँदो भारत भ्रमणले राष्ट्रिय स्वाभिमानका पक्षमा अग्नि परीक्षा हुने बताए। उनले दाहालले भारत भ्रमणका क्रममा गर्ने विविधखाले गतिविधिले उनलाई अग्नि परीक्षामा उतीर्ण र अनुत्तीर्ण निर्धारण गर्ने भएकाले अरु केही गर्न नपर्ने बताएका हुन।
एमालेमा लाग्दै आएको उग्रबामपन्थीको आरोप यतिबेला एकीकृत माओवादीमा सरेको तर्फ व्यंग्य गर्दै नेपालले उनीहरुमा अझै बन्दुक कै सम्झना रहेको बताएका छन्। व्यालेट भन्दा बुलेटमा भर गर्ने शक्ति आज सरकारमा रहेको अवस्थामा उक्त भ्रमलाई हटाएर जनतामा आउन र जनताको विश्वास जित्न उनले आग्रह समेत गरे । सरकारमा रहेर यतिबेला माओवादीले आफ्ना कार्यकर्ता पालि रहेको आरोप लगाउँदै स्थानीय निकायको निर्वाचन नहुँदा बजेटको चरम दुरुपयोगा भएको दावी गरे। उनले स्थानीय निकायको निर्वाचनलाई पछि धकेल्न नहुने बताए।
नेता नेपालले कांग्रेस ठग्न, मधेसवादी दल भ्रम छर्न र मओवादी शक्ति र पैसामा लागेको आरोप समेत लगाए। राष्ट्रियताको रक्षा र देश भक्तिको सम्मान २००६ देखि नै उठाउँदै आएको एमाले अझै पनि राष्ट्रिय स्वाभिमानका लागि जुनसुकै कुरा सामना गर्न तयार रहेको बताएका छन। उनले विभिन्न शक्तिहरु यतिबेला देशमाथि मौका हेरिरहेकोले सजग हुन जरुरी बनि सकेको उल्लेख गरे।
प्रकाशित: २७ भाद्र २०७३ १३:२६ सोमबार