२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सुरु

संघीयता कार्यान्वयनकालागि स्थानीय सरकारलाइ बलियो बनाउँ: प्रदेश प्रमुख शेरचन

तस्बिर: रेखा भुसाल आज बिहान देखि बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन लगायत।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन्। बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका हुन्। संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानून निर्माणमा ध्यान दिनु पर्ने बताए।

स्थानीय सरकारहरुमा पनि महानगर, उपमहानगर र गाउँनगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक र सामाजिक रुपमा समन्याय हुनेगरी श्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको उनले बताए। बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले यसले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने बताए। संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि संघीय सरकारको ध्यान जानु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरे अनुसारका अधिकार कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाल नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिएकाले  सुधारकोे खाँचो औल्याए। नेपाल नगरपालिका संघका सहकोषाध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले संघीयता सफल बनाउन स्थानीय सरकारहरुलाई सफल बनाउनुपर्ने बताइन्।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरुको जिम्मेवारी तोकी सोही बमोजिमको कानुन बनाउन संघीय सरकारले तदारुपता देखाउनु पर्नेमा जोड दिए। संघले प्रदेश र स्थानीय सरकारलाई कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए। संघीय सरकारका विषयगत मन्त्रालयहरूबाट स्थानीय सरकारका अधिकारहरुमाथि अंकुश लगाउने प्रयास भएको भन्दै स्थानीय सरकारलाई स्थानीय निकायजसरी व्यवहार गर्न नहुने नगप्रमुख पाण्डेले बताए।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रुपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एकै ठाउँमा उभिएको बताइन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का लगायतले बोलेका थिए।

सम्मेलनमा देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी भएका छन्। बिहान औपचारिक समारोह सकेर अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ। प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। 

प्रकाशित: २२ माघ २०७९ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App