१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्णविन्यास बिगारेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै पत्रकारद्वय टपेन्द्र कार्की र स्वागत नेपालले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारी निर्णयबमोजिम पछिल्लो समय चलाइएको वर्णविन्यास खारेज गरी यसअघि प्रचलनमा रहेकै वर्णविन्यास कायम गराउन उनीहरूले माग गरेका छन् ।

निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा सचिव, पाठ्यक्रम विकास केन्द्र, प्राध्यापक हेमांगराज अधिकारी, तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, त्रिभुवन विश्वविद्यालय, त्रिवि उपकुलपति लगायतलाई विपक्षी बनाइएको छ । निवेदनको पहिलो सुनुवाइका लागि आइतबार पेसीमा राखिएको छ ।

निवेदनमा तत्कालै उक्त भाषामा प्रकाशन भएका पाठ्यपुस्तक रोकी पुरानैअनुसार अध्ययन–अध्यापन गराउन अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

२०६७ सालमा शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले आफ्नो पुरानो ‘सम्पादन प्रकाशन शैली’ मा परिमार्जन गर्ने निर्णय गरेपछि भाषा विवाद सतहमा आएको हो ।  

यसअघि गीता राणा, कान्ता भट्टराई र अनुराधा थापाले संसद्मा भाषा विदेशीको इशारामा बिगारिएकाले सच्याउन माग गरेका थिए । उनीहरूले अमेरिकी विवादित संस्थाको पैसाको भरमा भाषा मार्ने खेल भएकाले तत्काल सम्बन्धित निकायले सदनलाई जानकारी गराउन माग गरेका थिए ।

गत साउनमै ‘भाषा बचाउ आन्दोलन’ का संयोजक गाउँले बलदेव अर्थात बलदेव अधिकारीले अख्तियारमा उजुरी गरेका थिए । साउन ६ गते भाषाका नाममा प्राध्यापकले सरकारी रकम दुरुपयोग गरेको दाबी गर्दै भ्रष्टाचारमा अनुसन्धान गरी कारबाही हुनुपर्ने माग उजुरीमा गरिएको थियो । व्यक्तिगत फाइदाका लागि प्राध्यापक हेमांगराज अधिकारी लगायतले सरकारी शब्दकोश बिगारेको आरोप उनले लगाएका थिए ।
 

प्रकाशित: २५ भाद्र २०७३ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App