४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री दाहालले विगतका प्रधानमन्त्रीलाई व्यङग्य गर्दै भने: मैले सिंहदरबारबाटै शासन गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ। यसपटक हामीले उक्त गल्ती दोहो¥याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’

‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’ 

प्रधानमन्त्री दाहालले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताए। उनले भने, ‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछु। तपाईहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस्। मैले पनि अभिभावकीय भूमिका खेल्छु। तपाईहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ। तपाईहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस्।’

उनले निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। बैठकमा प्रधानमन्त्री दाहालले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताए।

दाहालले अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक रहेको बताए। 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आ–आफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे संक्षेपमा बिफ्रिङ गरेका थिए। 

प्रकाशित: १७ माघ २०७९ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App