हवाई (अमेरिका)- वासिंगटन डिसीमा बसेर गत साता संसारकै सबैभन्दा ठूलो संरक्षण विस्तार गर्ने निर्णय गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार एकाएक हवाई राज्यको राजधानी हुनुलुलु आए। र, आफ्नो निर्णय सार्वजनिक गरेर बिहीबार राति नै फर्किए।
आफ्नो मुलुकमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सम्मेलन बिहीबारबाट सुरु हुँदैछ भन्ने उनलाई थाहा थियो। त्यसैले संरक्षण क्षेत्र विस्तारको घोषणा गर्न मात्र साढे १० घन्टाको हवाई यात्रा पूरा गरेर आए। संरक्षणकर्मीलाई खुसी पार्न उनले हवाईको पपहानामकुकेइअ मारिन संरक्षित क्षेत्र विस्तारको घोषणा गरे।
हिलारीको पक्षमा चुनाव प्रचार गर्ने उद्देश्य भए पनि सम्मेलनमा सहभागी हुन आएका संरक्षणविद्लाई ओबामाले अघिल्लै दिन भेटेका थिए। जलवायु परिवर्तन र त्यसबाट सिर्जना भएका चुनौती सामना गर्न सबैलाई सहयोग गर्ने उनले बताए। ओबामाको प्रतिबद्धताको चर्चा सम्मेलन उद्घाटनका वक्ताले राम्रैसँग गरे।
युएस सेक्रेटरी स्याली जेवेलले सम्मेलन उट्घाटनक्रममा आफ्ना राष्ट्रपतिको प्रशंसा गर्दै भनिन्, ‘ओबामा संरक्षणप्रति संवेदनशील छन् भन्ने कुराको पुष्टि उनको अघिल्लो साताको घोषणाले गर्छ।'
ओबामाले युनेस्कोको सूचीकृत करिब ३ लाख ६२ हजार वर्गमाइलको संरक्षण क्षेत्र विस्तार गरेर ५ लाख ६३ हजार वर्गमाइल बनाए।
यतिबेला हवाईको राजधानी हुनुलुलुमा संसारका करिब ८ हजार संरक्षणविद् प्रकृति संरक्षणलाई दिगो बनाउने गोरेटो पहिल्याउन भेला भएका छन्। संरक्षण क्षेत्रमा काम गरिरहेका १३ सय संघसंस्था र तिनका प्रतिनिधिको सहभागिता छ। यसमा विभिन्न विकसित देशका वातावरण, वन, कृषिलगायतका मन्त्री पनि सहभागी छन्।
'यो भेलाको मुख्य उद्देश्य नै प्रकृति संरक्षणका लागि नयाँ गोरेटो पहिल्याउने हो, हवाईका गभर्नर डेभिड एजले शुक्रबार सम्मेलन उद्घाटन गर्दैै भने, ‘आगामी दिन हाम्रालागि चुनौतीपूर्ण पनि छन् तर त्यसको सामना गर्न एकजुट हुनुपर्छ।' उनले समुन्द्रतटीय मुलुकको प्रकृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
हुनुलुलुस्थित नेलएस ब्लासडेल केन्द्रमा प्रकृति संरक्षणको सन्देश लिने झाँकीसहितको भव्य समारोहबीच सम्मेलनको उद्घाटन भएको थियो। प्रकृतिलाई माया गरौं भन्ने भाव परम्परागत झाँकी र प्रस्तुति दिइएको थियो। बीच–बीचमा प्रकृतिसँग जोडिएका गीत प्रस्तुत गरिएका थिए।
उद्घाटनबाहेकका कार्यक्रम भने हुनुलुलुको हवाई कन्भेन्सन सेन्टर हुने भएको छ। सम्मेलनमा वन्यजन्तु तस्करी, संरक्षणमा निजी क्षेत्रको लगानी, प्रकृतिमा आधारित जलवायु परिवर्तन अनुकूलन र समानुकूलन तथा ओसन संरक्षणलाई मुख्य मुद्दा बनाइएको छ। मुख्य मुद्दामा मन्त्रीसहितको बैठकमा छलफल हुनेछ। यी मुद्दामा सेप्टेम्बर दुईदेखि पाँच तारिखसम्म बहस हुनेछ। त्यो बहसले आइयुसिएनका सदस्य राष्ट्रलाई नीति–निर्माणका लागि निर्देश गर्नेछ।
आइयुसिएन चुनावी प्रक्रिया ६ तारिखदेखि सुरु हुनेछ। यसबीच संसारका विभिन्न देशले आफूले सामना गरेका मुद्दाबारे हवाई सम्मेलन केन्द्रमा छलफल गर्नेछन्। नेपालले पनि बाघ संरक्षणमा भइरहेका गतिविधि सम्बन्धमा एसियाको प्रतिनिधित्व गर्दै प्रस्तुति गर्ने भएको छ। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक महेश्वर ढकालले तयारी गरिरहका छन्। ‘बाघ संरक्षणमा नेपालले अग्रणी भूमिका निर्वाह गरिरहेको कुरा स्थापित गर्ने हाम्रो उद्देश्य हो,' उनले भने, ‘हामी विश्वलाई बाघ संरक्षणका दिगो उपाय सिकाउन चाहन्छौं।'
यसैगरी नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबाबु प्रधानले नेपालमा गिद्ध संरक्षणका लागि भए–गरेका उपलब्धि र चुनौतीबारे प्रस्तुति दिने तयारी गरिरहेका छन्।
सम्मेलनबाट आगामी दिनको संरक्षण रणनीति तय गरिनेछ। सेप्टेम्बर ७ तारिखमा आइयुसिएन सदस्य संघ–संस्थाका प्रतिनिधिले यसको नेतृत्व चयन गर्नेछन्। विश्वप्रकृति संरक्षण संघको १० दिने सम्मेलन बिहीबारबाट सुरु भएको हो। यस्तो सम्मेलन हरेक चार चार वर्षमा हुने गर्छ।
सम्मेलनमा १ सय ९२ देशका प्रकृति संरक्षण क्षेत्रमा कार्यरत विशेषज्ञ, सरकारी पदाधिकारी, गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी गरी करिब ८ हजार सहभागी छन्।
सम्मेलनले आइयुसिएनको नेतृत्व चयनलगायत संरक्षणका क्षेत्रमा देखिएका प्रमुख समस्या पहिचान गर्नेछ। यसले संरक्षणका भावी रणनीतिसमेत बनाउने बताइएको छ।
आइयुसिएनका सभापति झाङ झिङसेङले भने, ‘हामी सरोकारवाला आज हुनुलुलुमा भेला भएका छौं। यो प्रेरणादायी स्थानमा छौं। हामीसँग ज्ञान र विज्ञान छ। यसलाई प्रयोगमा ल्याउने बारेमा चिन्तित छौं।'
प्रकाशित: १८ भाद्र २०७३ ०२:२४ शनिबार