१६ चैत्र २०८० शुक्रबार
राजनीति

शक्तिको लडाइँमा मेयर र उपमेयर

प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाही।

कालिकोटको खाँडाचक्र नगरपालिकामा बेथितिको चाङ सुरु भएको छ। नगरपालिकामा कर्मचारी नियुक्तिदेखि बजेट बाँडफाँटलगायतका विषयमा बेथिति सुरु भएको हो। आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।  

कर्मचारी कति राख्नेदेखि लक्षित वर्गको बजेटबाट कम्प्युटर कक्षा सञ्चालनमा कसको पहुँच कति हुने भन्ने विषयमा दुई जनाबीच विवाद भएको हो। प्रमुख र उपप्रमुख दुवैजनाले अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले प्रतिक्रिया दिएका छन्। शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख र उपप्रमुखले आइतबार बिहान ११ बजे फेरि नगरपालिका बाहिर झगडा गरेको प्रत्यक्षदर्शीले बताएका छन्। अनेरास्ववियु कालिकोटका अध्यक्ष धर्मराज शाहीले सडकमै झडप हुन लागे पनि आफूहरूले रोकेको बताए।  

नगरप्रमुख कमलबहादुर शाहीले पुराना कर्मचारी सबै हटाउन नमिल्ने बताएका छन्। उपप्रमुख गणेशबहादुर शाहीले सबै करारका कर्मचारी हटाएर विज्ञापन गर्नुपर्ने अडान लिएका छन्। उपप्रमुखकै माग बमोजिम करार कर्मचारी हटाएर पुनः विज्ञापन भएको र आजभोलि नै नयाँ करार कर्मचारीको नतिजा निकाल्ने तयारी हुँदा स्वार्थ बाझिएकाले विवाद भएको कर्मचारीको भनाइ छ।  

उपप्रमुख शाहीले व्यंग्यात्मक शैलीमा प्रमुख र उप्रमुखबीच केही विवाद भएको जानकारी दिए उनले थप कुरा भेटमा भन्ने जनाएका छन्। नगरपालिकामा आ–आफ्नो पक्षका कर्मचारी राख्नेदेखि बजेट बाँडफाँटमा विवाद प्रयास असफल हुँदा झगडा भएको कर्मचारीले बताएका छन्।  

खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो पत्नीलाई जागिर दिएका छन्। उनले पत्नी मायादेवी हमाल शाहीलाई जागिर दिएको स्थानीयले बताएका छन्। उपप्रमुख गणेशबहादुर शाहीले ६ महिनाको लागी नियुक्ती दिएर खाँडाचक्र नगरपालिका–१ को चिनारी आधारभूत विद्यालयमा अध्यापन गराउन लगाएका हुन्।

आफू विजय भएलगत्तै उनले आफ्नी पत्नीलाई जागीर दिएका छन्। पालिकाका अन्य नागरिकलाई रोक्दै आफ्नो पत्नीलाई जागिर दिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। नगरपालिकामा नगर प्रमुख र उपप्रमुख मनोमानी ढंगबाट योजना दिनेदेखि कर्मचारी भर्तिसम्म आफ्नो पहँुचवालालाई राख्ने गरेका छन्।  

नगरपालिकामा रहेका पहिलेका कर्मचारी हटाई नयाँ राख्दा पनि यस्तै समस्या आएको वडाध्यक्षको भनाइ छ। नगरपालिकाले एउटै मन्दिर निर्माणको लागि ३७ लाख बजेट विनियोजन गरेको बताइएको छ। आफ्नो पार्टीका मान्छेलाई रिजाउन यस्तो गरेको बताइएको छ। खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी राख्ने गरेकोे छ। प्रशासन अधिकृतको श्रीमतीले पनि जागिर पाएपछि सबै कुरा सार्वजनिक भएको छ।  

खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत अविराज शाहीले आफ्नो श्रीमतीलाई आफैं नियुक्ति दिएर जागिर खुवाएका छन्। उनले २०७८ साल फागुन १ गते बाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौंमा आफ्नी श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफैं हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जाने सम्मको सेटिङ मिलाएको भेटिएको छ। खाँडाचक्र नगरपालिका अहिले पनि भाडाकै घरमा बसेको छ। नगरपालिकाले भाडामै वार्षिक ३० लाख खर्च गर्ने गरेको छ । नगरपालिकाले चार वटा घर भाडामा लगेर बसेको हो।  

नगरपालिकाबाट प्रवाह हुने सबै सेवा मध्य नगरपालिकाकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, पूर्वाधार विकास शाखा, स्वास्थ्य शाखा, कृषि शाखालगायतका शाखाको लागी फरकफरक घरमा राख्ने गरेका छन्।  

पाँच वर्षको कार्यकालमा आफ्नो प्रशासनीक कार्यालय बनाउन नसकेको भन्दै स्थानीयले विरोध जनाएका छन्। जिल्लामा ठूलो एकीकृत भवन खाली रहेको घरमा नगरपालिका सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। पालिकाले वार्षिक ३० लाख छुट्याउने गरेको छ।

बजेट बाँडफाँटमा विवाद

खाडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच कार्यक्रमगत बजेट बाँडफाँटमा विवाद भएको छ। उनीहरूबीच लक्षित बर्गको कार्यक्रमका लागि छुट्याएको ५ लाख रूपैयाँका विषयमा आइतबार साँझ विवाद भएको स्रोतले जनाएको छ।

असार मसान्तमा पाँच लाख बजेट कम्प्युटर सिकाइका लागि छुट्याइएको थियो। विपन्न परिवारका एसईई पास गरेका तर टाढा पढ्न जान नसक्ने विद्यार्थीहरूका लागि उक्त बजेट छुट्याइएको हो। उक्त रकमले ११ वडाका २२ जनालाई कम्प्युटरको सीप सिकाउने तथा पढाउने सम्झौता भएको थियो। उक्त विषयमा विवाद भएको छ।

प्रकाशित: १७ माघ २०७९ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App