१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहाल मन्त्रिपरिषद् चौथोपटक विस्तार

काठमाडौं- प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र मन्त्रालय भागबन्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री निर्वाचित भएको २३ दिनपछि शुक्रबार दाहालले कांग्रेसका तर्फबाट थप १३ मन्त्री सहभागी गराएका हुन्। थपिएकामध्ये कांग्रेस सभापति देउवाका सात, नेता रामचन्द्र पौडेलका पाँच र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका एक जना छन्।

यससँगै दाहाल मन्त्रिपरिषद् ३१ सदस्यीय बनेको छ। साउन २० गते प्रधानमन्त्री शपथसँगै दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका दाहालले त्यसपछि दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै १८ सदस्यीय बनाएका थिए। सरकारमा अझै कांग्रेसबाट राज्यमन्त्री र साना दलबाट मन्त्री थपिन बाँकी छ।

संविधान कार्यान्वयनलाई प्रमुख एजेन्डा बनाउँदै सरकारको नेतृत्व सम्हालेका दाहालले संवैधानिक व्यवस्थाविपरीत मन्त्रिपरिषद्को आकार बढाउँदै लगेका छन्। संविधानको नयाँ व्यवस्थाअनुसार २५ जनासम्मको मन्त्रिपरिषद् बनाउने व्यवस्था रहे पनि दलहरूलाई संक्रमणकालीन व्यवस्था भन्दै पार्टीभित्रको विवाद मिलाउन सरकारको आकार बढाउँदै लगेका हुन्।

कांग्रेसले पाएको १३ मध्ये पाँच मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने पौडेल पक्षको अडानका कारण बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार शुक्रबारसम्म लम्बिएको हो। पौडेलको मागअनुसार पाँचै मन्त्रालय दिन तयार भए पनि प्रधानमन्त्री दाहाललाई विश्वासमा लिएर सभापति देउवाले आफ्नो पक्षमा थप दुई मन्त्रालय पारेका छन्। यसअघि कांग्रेसलाई १३ र माओवादीलाई प्रधानमन्त्रीसहित नौ मन्त्रालय भागबन्डा गर्ने सहमति भएको थियो।

कांग्रेसका तर्फबाट थपिएका १३ मध्ये ७ जना नयाँ र ६ जना पुरानै अनुहार हुन्। प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा, अर्जुननरसिंह केसी सहरी विकास, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य, सूर्यमान गुरुङ श्रम र शंकर भण्डारीले वन मन्त्रालय सम्हालेका छन्। 

त्यस्तै पार्टी कोषाध्यक्ष सीतादेवी यादव शान्ति, दीपक गिरी सिँचाइ, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी सहकारी, रोमी गौचन थकाली वाणिज्य र गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। महत, खाँण, केसी, शाही, बुढाथोकी र गुरुङ देउवानिकट हुन् भने भण्डारी खुमबहादुर खड्कानिकट मानिन्छन्। त्यस्तै यादव, गिरी, जोशी, थानी र गौचन पौडेल पक्षबाट मन्त्री बनेका हुन् भने थापा सिटौलाको कोटाबाट सरकारमा गएका हुन। 

त्यस्तै, साउन ३० गते नै मन्त्रीको शपथ लिएका माओवादी नेता धनीराम पौडेल र राज्यमन्त्री धनमाया विकले शिक्षा मन्त्रालयको जिम्मा पाएका छन्। कांग्रेसले पार्टीभित्रको सन्तुलन मिलाउन शिक्षा आफूलाई दिन आग्रह गरेपछि पौडेलले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

पार्टी सभापति देउवा स्वास्थ्य उपचारका लागि शुक्रबार सिंगापुर जाने भएपछि नयाँ मन्त्रीको शपथ बिहान ९ बजे नै राष्ट्रपति कार्यालयमा गरिएको थियो। शपथलगत्तै नवनियुक्त सबै मन्त्रीले आ–आफ्नो मन्त्रालय पुगेर पदभार सम्हालेका छन्।

यसअघि साउन २० गते कांग्रेसबाट नेता विमलेन्द्र निधिले उपप्रधानसहित गृह र रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। दुवै सभापति देउवानिकट हुन्। माओवादीबाट एक उपप्रधानसहित ८ मन्त्री र ४ राज्यमन्त्री यसअघि नै सरकारमा सहभागी भएका छन्। त्यस्तै साउन २४ गते नै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई तथा नेकपा संयुक्तका नेता जयदेव जोशीलाई सरकारमा सहभागी गराइसकेका छन्।

मन्त्रीहरूको शपथग्रहणमा शुक्रबार स्थान अभाव रहेको जनाउँदै राष्ट्रपति कार्यालयले सञ्चारकर्मीलाई प्रवेश निषेध गरेको थियो। मन्त्रीलाई शपथ गराउने ठाउँ साँघुरो रहेको जनाउँदै राष्ट्रपति कार्यालयले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई प्रवेश रोक लगाएको हो। सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रका प्रतिनिधिलाई मात्र प्रवेश दिइएपछि सञ्चारकर्मीले असन्तुष्टि जनाएका थिए। 

को कस्ता?

कांग्रेसले प्रदेश ३ बाट सबैभन्दा धेरै चार जना र प्रदेश ७ बाट एक नेतालाई मन्त्री बनाएको छ। प्रदेश ३ अन्तर्गत काठमाडौं र नुवाकोटबाट दुई/दुई नेता सहभागी भएका हुन्। नुवाकोट गृहजिल्ला भएका अर्जुननर केसी र प्रकाशशरणमहत केन्द्रमा सभापति देउवासँगै रहे पनि दुई नेताबीचको सम्बन्ध सुमधुर छैन। जल्लामा फरक–फरक पार्टी चलाउने यी दुवै नेता अपवादबाहेक एउटै कार्यक्रममा देखिँदैनन्। पार्टी पूर्वसहमहामन्त्री केसीले शिक्षा, स्वास्थ्यसहितका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। पञ्चायत हुँदै कांग्रेस राजनीतिमा सक्रिय केसी नेपाल विद्यार्थी संघको संस्थापकमध्ये एक हुन्।

देउवाका विश्वासपात्र महत नेविसंघको महामन्त्री हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। समानुपातिकतर्फबाट सांसद रहेका महत पार्टी विभाजनपछि केन्द्रीय राजनीतिमा छाएका हुन्। ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिकेका उनी पार्टीको सामान्य कार्यकर्ताजस्तो आक्रामक स्वभाव देखाउन पनि पछि पर्दैनन्। 

नेविसंघ र तरुण दलको केन्द्रीय नेतृत्व सम्हालिसकेका बालकृष्ण खाँण पनि देउवाका भरपर्दा नेता हुन्। कम बोल्ने र मुढी स्वभावका खाँणले यसअघि जलस्रोत मन्त्रीको भूमिका पाएका थिए। पर्यटन मन्त्रालयको जिम्मेवारीमा पुगेका जीवनबहादुर शाही पहिलोपटक मन्त्री बनेका छन्। हुम्ला जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका उनी कांग्रेस केन्द्रीय सदस्य छन्।

पञ्चायत हुँदै कांग्रेस राजनीतिमा सक्रिय केशवकुमार बुढाथोकी तत्कालीन सभापति सुशील कोइरालादेखि वर्तमान सभापति देउवासम्मको विश्वास जित्न सफल नेता हुन्। दुवै नेताबाट केन्द्रीय सदस्य मनोनीत हुने अवसर पाएका उनी झापा– ५ बाट निर्वाचित सांसद हुन्।

ताप्लेजुङका पुराना नेता सूर्यमान गुरुङ पहिलो संविधानसभा विघटन हुनुअघि बाबुराम भट्टराई नेतृत्व सरकारमा सहभागी थिए। दलीय सहमतिपछि पार्टी नेता कृष्णप्रसाद सिटौला र गुरुङ सरकारमा सहभागी भए पनि मन्त्रालयको टुंगो नलाग्दै सरकारबाट बाहिरिएका थिए। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पछिल्ला पुस्ताका नेता हुन्। खुमबहादुर खड्काका विश्वासिला भण्डारी पहिलोपटक मन्त्री बनेका हुन्। तनहुँ–१ का सांसद भण्डारी पनि नेविसंघ, तरुण दल हुँदै कांग्रेस राजनीतिमा आएका हुन्।

पार्टीको १३ औं महाधिवेशनबाट कोषाध्यक्ष निर्वाचित सीतादेवी यादव पति चन्द्रनारायणलाई २०५७ सालमा तत्कालीन माओवादीले हत्या गरेपछि उनकै विरासत धान्न राजनीतिमा सक्रिय भएकी हुन्। त्यसयता निरन्तर सिरहा जिल्ला सभापति रहेकी उनी २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य र दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ३ बाट निर्वाचित सांसद हुन्।

त्यस्तै, सुर्खेतबाट राजनीतिमा सक्रिय हृदयराम थानीलाई विद्रोही स्वभावका नेताका रूपमा पार्टी कार्यकर्ताले चिन्ने गरेका छन्। नेविसंघको नेतृत्व सम्हाल्न पटक–पटक प्रयास गरे पनि आफ्नै स्वभावका कारण पछि परेको उनका समकक्षी र निकटहरू बताउँछन्। नेता शेखर कोइरालासँग बढी निकट थानी सुर्खेत–२ बाट प्रतिनिधित्व गर्छन्।

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका रोमी गौचन मुस्ताङका नेता हुन्। तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुँदै सुजातासम्म सुमधुर सम्बन्ध रहेका उनी हक्की स्वभावका नेता छन्। दाङका नेता दीपक गिरी पनि नेविसंघ हुँदै पार्टी राजनीतिमा आएका हुन्। एउटै जिल्ला भएर पनि नेता खुमबहादुर खड्कासँग दूरीमा रहेका उनको पार्टी महामन्त्री शशांक कोइरालासँग भने सुमधुर सम्बन्ध छ। पार्टी केन्द्रीय सदस्य हुँदै उनी पहिलोपटक मन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।

विस्तारित मन्त्रिपरिषद्मा काठमाडौंबाट चुनाव जितेका नेता नवीन्द्रराज जोशी र गगनकुमार थापा मन्त्रीको जिम्मेवारीमा पुगेका छन्। फरक–फरक गुटबाट सरकारमा सहभागी दुई नेताबीच सुमधुर सम्बन्ध भने छैन। काठमाडौं ८ का सांसद जोशी नेविसंघको महामन्त्री हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। पौडेल पक्षबाट मन्त्रीको जिम्मेवारीमा पुगेका उनी काठमाडौं महानगरपालिकाको उपमेयरसँगै राष्ट्रिय राजनीतिमा चर्चामा आएका हुन्। उनी पार्टी केन्द्रीय सदस्यसमेत छन्।

पूर्वमहामन्त्री सिटौलाको कोटाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगेका थापा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन्। कांग्रेसभित्र युवा पुस्तालाई अवसर छैन भन्ने आरोप लागिरहँदा पहिलो संविधानसभामा ३३ वर्षमै सदस्य बनेका थापा ४० वर्षमा मन्त्रीको जिम्मेवारीमा पुगेका छन्। नेविसंघबाट राजनीति सुरु गरेका थापा त्रिचन्द्रको स्ववियु सभापति, संघकै उपाध्यक्ष, महामन्त्री हुँदै पार्टी केन्द्रीय सदस्य छन्। युवाले निकै आशा गरेका थापालाई समकक्षीले भने महत्वाकांक्षीका व्यक्तिका रूपमा चित्रण गर्ने गरेका छन्। थापा पार्टीको १३ औं महाधिवेशनमा सिटौलाको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका थिए। 

बढ्यो असन्तुष्टि

पार्टीबाट थप नेता सरकारमा सहभागी भएसँगै कांग्रेसभित्र असन्तुष्टि सुरु भएको छ। लामो सूचीबाट केही नेता मात्र बन्त्री बनेपछि सभापति देउवा र नेता पौडेल दुवै पक्षमा असन्तुष्टि बढेको छ। सभापतिनिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी, मीन विक, पद्मनारायण चौधरी, फरमुल्ला मन्सुरसहित नेता रुष्ट छन्। देउवाका पारिवारिक नातेदार मोहनबहादुर बस्नेतका साथै भरतबहादुर शाह, आङ्देम्बेसहित केही नेतालाई आफ्नो नेतृत्वमा बन्ने सरकारमा सहभागी गराउने आश्वासन दिएका छन् भने विक, अम्बिका बस्नेतसहितलाई राज्यमन्त्री प्रस्ताव गरेको स्रोतको दाबी छ।

तत्कालीन सभापति सुशील कोइरालाले मन्त्री नबनाएपछि क्याम्प परिर्वतन गरेका भण्डारीको यसपटक पनि नाम अटाएन। महाधिवेशनअघि देउवा पक्षमा लागेका मन्सुर, अर्जुनप्रसाद जोशीका साथै संसदीय दलको निर्वाचनमा मात्र खुलेका चौधरी पनि परेनन्। पौडेल पक्षबाट बलहादुर केसी, आनन्द ढुंगाना, कमला पन्त, रामकृष्ण यादवसहित आकांक्षी पनि रुष्ट देखिएका छन्।

सभापति देउवा स्वास्थ्य उपचारबाट फर्केपछि थप हुने राज्यमन्त्रीमा पौडेल पक्षबाट दीपक खड्का/दीपक कुईंकेल, सुरेन्द्र आचार्य/अम्बरसिंह पुन/सञ्जयकुमार गौतम, सरिता प्रसाईं र जीवनबहादुर परियारमध्येबाट पठाउने आन्तरिक तयारी छ। सिटौला पक्षबाट तारामान गुरुङ पनि राज्यमन्त्री बन्ने सम्भावना छ। शुक्रबार दिउँसो सिंगापुर प्रस्थान गरेका सभापति देउवा एक सातापछि मात्र स्वदेश फर्कने छन्।

प्रकाशित: ११ भाद्र २०७३ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App