७ वैशाख २०८१ शुक्रबार
राजनीति

कृष्णमोहन श्रेष्ठ हत्याको २० वर्ष: प्रायश्चितबिनाको सलामी !

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा २२औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा पूर्वमहानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिकलाई सलाम गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर: रासस

२० वर्षअघि आफ्नै निर्देशनमा हत्या गरिएका सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिकअगाडि उभिएर प्रधानमन्त्री पुष्पकमल दाहालले सलाम गरिरहेको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। प्रधानमन्त्रीको हैसियतमा दाहालले कृष्णमोहनको सालिकलाई सलाम गर्दा उनमा कुनै आत्मग्लानि देखिन्नथ्यो। दाहालले अहिलेसम्म श्रेष्ठको हत्याबारे कुनै आत्मसमीक्षा पनि गरेका छैनन्। सोमबार चुपचाप श्रेष्ठको सालिकलाई सलाम गरेको सन्दर्भले आफूले गल्ती गरेको हो कि भन्ने सन्देश दाहालले दिन चाहेको आभास दिलाउँछ।

दुई दशकअघि युद्धको समयमा माओवादीको निर्देशनमा श्रेष्ठकी श्रीमती नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीसमेत मारिएका थिए। प्रधानमन्त्रीका रूपमा सलाम गर्दा श्रेष्ठका परिवारलाई त केही सान्त्वना मिल्यो होला तर दाहालले यस विषयमा कमजोरी भएको थियो नभनेसम्म सालिकअगाडि उभिएर गरेको ‘सांकेतिक सलाम’ प्रायश्चित हो वा संसदीय राजनीति आएपछिको बाध्यता भन्नेबारे कसैले छुट्ट्याउन सक्ने अवस्था छैन। उनले आफ्नै कार्यकर्ताबाट मारिएकाको सम्मानमा यसरी सलाम गर्नुपर्छ भनेर कहिल्यै सोचेका थिएनन् होला तर सोमबार भने उनले सशस्त्र मुख्यालय परिसरमा स्थापना गरिएको श्रेष्ठको सालिकलाई ससम्मान सलाम गरेका हुन्।  

तत्कालीन माओवादी कार्यकर्ताले ललितपुरको बागडोलमा २०५९ माघ १२ गते हिँड्दाहिँड्दै श्रेष्ठ दम्पती र अंगरक्षकको हत्या गरेका थिए। त्यतिबेला अहिलेको जस्तो सामाजिक सञ्जाल नभए पनि श्रेष्ठ दम्पतीको हत्याको विषयलाई लिएर सञ्चारमाध्यममा व्यापक आलोचना भएको थियो। सालिक सलामको घटनाले अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा मात्र पाएको छैन, खाटा बसिसकेको घाउलाई फेरि बम्झाइदिएको छ।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला सशस्त्र प्रहरी बल गठन भएको थियो। माओवादीले त्यतिबेला आफूविरुद्ध लड्न गठित फोर्सका रूपमा त्यसलाई लिएको थियो। सरकारसँग बदला लिन श्रेष्ठ दम्पतीको हत्या गरेको भनिए पनि अहिले माओवादीभित्र सो विषयमा कहिल्यै समीक्षा भएको पाइन्न।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल मात्र होइन, यसअघि गृहमन्त्री भएका नेताहरू रामबहादुर थापा, कृष्णबहादुर महरा, जनार्दन शर्माले पनि श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै सलामी दिएका थिए। तर पनि यस्तो किन गरिँदैछ भनेर माओवादीले कहिल्यै आत्मसमीक्षा गरेन। शान्तिप्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेका दाहालले सशस्त्र प्रहरी बल गठन भएको २२ वर्ष पुग्दा श्रेष्ठको सालिकलाई सलाम गरेपछि अब भने माओवादी केन्द्र यो विषयमा समीक्षा गर्नुपर्ने तहमा पुगेको हो कि भन्ने अनुमान गरिएको छ। त्यतिबेला माओवादीका कार्यकर्ताहरूले श्रेष्ठ दम्पतीलाई हत्या गर्दा गर्व गर्नेहरू यतिबेला सालिकमा सगर्व सलाम गर्नुलाई त्यस रूपमा अथ्र्याउन थालिएको छ ।

श्रेष्ठको जन्म २००३ फागुन ३ गते संखुवासभाको चैनपुरमा भएको थियो। उनी २०२७ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। माओवादीको द्वन्द्व बढ्दै गएपछि तत्कालीन सरकारले सेना र प्रहरीका जनशक्ति मिलाएर अर्ध सैनिक बल गठन गरेको थियो। नेपाली सेनाका १२० र नेपाल प्रहरीका १० हजार सुरक्षाकर्मीलाई सरुवा गरेर सशस्त्र बल गठन गरिएको थियो। सोही क्रममा उनी २०५७ माघ १९ गते सशस्त्र प्रहरी बलको संस्थापक महानिरीक्षक बनेका थिए।

प्रकाशित: ११ माघ २०७९ ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App