३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मूल समस्या छाडेर लोकप्रियता खोज्दै पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदभार ग्रहण गरेको मंगलबार आठ दिन बितेको छ। यो अवधिमा ‘सस्तो लोकप्रियता’का लागि उनले दिनहुँजसो फरकफरक ‘स्टन्ट’ गरेका छन्। पर्यटन मन्त्रालयमातहतका मुख्य समस्या पन्छाउँदै ससाना विषयमा उनले लोकप्रियता खोजिरहेका छन्।  

४३ वर्षको उमेरमै तेस्रोपटक संघीय संसद्मा पुगेका किराती पहिलोपटक मन्त्री भएका हुन्। उनले माघ ३ गते पर्यटनमन्त्रीको पदभार ग्रहण गरेका थिए। तर त्यसयता उनको स्टन्टका कारण उनीप्रतिको आशा निराशामा परिणत हुन थालेको मात्रै छैन, सर्वसाधारणबाट चर्को आलोचनासमेत हुन थालेको छ।  

चर्चामै रहने प्रयास

सोमबार दलबलसहित नेपाल वायुसेवा निगमको कार्यालय पुगेका किराती फिल्मी शैलीमा उत्रिए। उनी नपुग्दै सञ्चारकर्मीको बाक्लो भिड लागिसकेको थियो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा पुग्दा क्यामराअगाडि उभिएर उनले लगातार आक्रामक अभिव्यक्ति दिए। कार्यकारी अध्यक्ष अधिकारीसहित निगमका कर्मचारीप्रति चर्काे आक्रोशित भए। वायुसेवा निगम घाटामा गएको, विमानको उडानमा ढिलासुस्ती भएकोलगायत विषयदेखि लिएर अनलाइन टिकटिङसम्मका कुरालाई कोट्याएर उनले निगम कर्मचारीको आलोचना मात्रै गरेनन्, निजी हवाई कम्पनीहरूको तारिफसमेत गरे। उनले भने, ‘अब उप्रान्त निगम घाटामा गएको टुलुटुलु हेरेर बस्दिनँ।’ निजी हवाई कम्पनीहरूले लगातार नाफा कमाइरहँदा निगम घाटामा गइरहेको बताउँदै मन्त्री किरातीले भने, ‘यसमा तपार्इंले ध्यान दिने कि नदिने ? अब म निगम डुबेको टुलुटुलु हेरेर बस्दिनँ।’

जहाजको उडानलाई ढिलासुस्ती गरेर नेपाली समयलाई बदनाम नगर्न पनि मन्त्री किरातीले अधिकारीलाई चेतावनी दिए। उनले भने, ‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठुलो महत्व हुन्छ। तोकिएकै समयमा जहाज उडाउनुहोस्। नेपाली समयलाई बदनाम नगराउनुहोस्।’ सोही क्रममा उनले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि आफूकहाँ पेस गर्न निर्देशन दिए। ‘कुन कहाँ कतिबेला उडे, कहाँ रोकिए, के कारणले रोकिए भन्ने विषयमा मलाई दैनिक रिपोर्ट चाहियो। रिपोर्ट नहेरी घर जान्नँ,’ मन्त्री किरातीले भने, ‘हिजो के भयो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो, अब रोकिनुहुन्न।’ यस्तै मन्त्री किरातीले निगमका जहाजमा अनलाइन टिकट प्रणाली एक महिनाभित्र स्थापित गर्न निर्देशन दिए। नभए राजीनामा दिन पनि उनले सुझाए। ‘यती, बुद्ध, सीता (एअरलाइन्स) ले सक्छन्, यसले (निगमले) चाहिँ किन सक्दैन ? सबैभन्दा पुरानो त्यसमा पनि सरकारी निगमले किन सक्दैन ? सक्नैपर्छ,’ उनले भने, ‘सकिएन भने त काम गर्न सकिन्नँ भनेर राजीनामा दिए हुन्छ।’  

मन्त्री किरातीले प्रदर्शन गरेको यस्तो ‘स्टन्ट’पछि निगमका कर्मचारीहरूमा भने चरम असन्तुष्टि पैदा भएको छ। निगमका पदाधिकारी र कर्मचारीहरूलाई गाली बर्साएर, बदनाम गरेर मन्त्रीले लोकप्रियता खोज्ने प्रयास गरेको उनीहरूको टिप्पणी छ। ‘उहाँको नियत निगमको सुधार गर्नेभन्दा पनि आफूले चर्चा कमाउनेतर्फ उद्यत रहेको देखिन्छ। निगमको सुधार गर्ने नै नियत हो भने निगम कसरी डुब्यो, के कारण निगमले घाटा बेहोर्दैछ भन्ने कुरा सुरुमा खोज्नुपथ्र्यो,’ निगमका एक कर्मचारीले भने, ‘तर उहाँको नजर त्यहाँ पुग्दैन। त्यो खोज्दै जाँदा उहाँहरूकै पार्टीको गम्भीर त्रुटि सबैभन्दा अगाडि आउँछ।’

निगममा अनावश्यक राजनीतिक हस्तक्षेप हटाएर एकनासको विधि र पद्धति स्थापित गरे स्वतः सुधार हुने ती कर्मचारी बताउँछन्। ‘मन्त्रीपिच्छे अनावश्यक कर्मचारी थपिन्छन्। निगमलाई उनीहरूका कार्यकर्ताको जागिर खाने थलो बनाइन्छ। उनीहरूकै चाहनामा व्यवस्थापन समितिका मानिस आउँछन्। जहाज उनीहरूकै रोजाइमा खरिद गरिन्छ। विधि त नेतालाई नै चाहिन्न नि ! अनि कसरी सुधार हुन्छ ?’ ती कर्मचारीले भने।  

मन्त्री किरातीको यो स्टन्टबारे सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। ‘क्यामरा नतेस्र्याईकन निगमका नेतृत्वलाई जिम्मेवार बनाएर बेथिति सुधार्न दबाब दिने कुरा भए जाती हुन्थ्यो। भिड जम्मा गरेर तमासा गर्न मात्र जानेको छ,’ ट्विटरमा नवरथ बानियाँले लेखेका छन्, ‘जति धेरै बेथिति उति नै आफूले खाने ठाउँ र कार्यकर्ता पोस्ने ठाउँ भेटेजस्तो हुन्छ यिनलाई। अहिले धेरै खरानी घस्दैछन्।’  

मन्त्री भएसँगै लोकप्रियताको खोजीमा लाग्दा मन्त्रालयका मूल मुद्दामा ध्यान नगएको आरोप किरातीमाथि लाग्न थालेको छ। उनी मन्त्री हुनुभन्दा तीन दिनअघि पोखरामा यती एअरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। उक्त दुर्घटनासँगै नेपाली हवाई क्षेत्रका समस्याहरूबारे पनि छलफल भइरहेको थियो। त्यसबारे विभागीय मन्त्री किरातीको ध्यानसम्म नगएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। नियुक्त भएपछि मन्त्रीले जिम्मेवारीमा आइसकेपछि सुरुमा मन्त्रालयको वास्तविक अवस्थाबारे जानकारी लिनुपर्ने पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही बताउँछन्। ‘मन्त्री भइसकेपछि पहिलो ध्यान मन्त्रालय र मातहतका निकायका खास अवस्थाबारे जानकारी लिने हो,’ उनले भने, ‘त्यसपछि मात्रै समस्या र समाधानको उपायहरूमा काम गर्ने हो। यसरी सस्तो लोकप्रियताका लागि सञ्चारमाध्यमको ध्यान तान्नतर्फ लाग्ने होइन।’ मन्त्री किरातीले मूल समस्याबारे बेवास्ता गरेको पनि उनले बताए।

‘निगमको मूल समस्या राजनीतिक हस्तक्षेप नै हो। सुधार गर्ने हो भने राजनीतिक पहुँचका आधारमा राखिएका कर्मचारी हटाउनुपर्छ। नयाँ मन्त्रीको आँट भए त्यसको सुरुवात गरे हुन्छ,’ उनले भने। ऋणमा किनिएका जहाज र ऋणमै बनेका विमानस्थलको प्रयोगमा पनि ध्यान दिनुपर्ने बताउँदैे उनले भने, ‘जहाज थन्किँदा दिनहुँ ऋण बढिरहेको छ। ऋणमा बनेका विमानस्थलमा जहाज नै बस्दैनन्। त्यतातिर मन्त्रीज्यूको ध्यान पुगेको देखिन्न।’

प्रकाशित: ११ माघ २०७९ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App