१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन्। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मगर १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी हुन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन्।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए। जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे।

इन्दिराको प्रस्तावकमा रास्वपाकै सोविता गौतम थिइन भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन थिए।

मुक्ताकुमारीको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए। मगर सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने यादव विपक्षी दलबाट उम्मेदवार बनेकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ। यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो। तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए।

प्रकाशित: ७ माघ २०७९ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App