coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दलहरूको ध्यान नयाँ राष्ट्रपतितिर

प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ। एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन्।

सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताए। ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ,’ उनले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ। त्यस्तो हुन सक्छ।’ तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आाफूअनुकूल बनाउने दाउमा छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ। सोही रणनीतिअनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ। कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने र प्रधानमन्त्रीमा दाहाललाई कांग्रेसले विश्वासको मत दिने समझदारी बनेको निकटहरूको दाबी छ।

कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीसहितका नेताहरूले संशय व्यक्त गर्दै आएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले आशंकालाई बल पुग्नेगरी आफू सहमतिमै राष्ट्रपति चयनको पक्षमा रहेको बताएका छन्।  

प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनमा निर्वाचन हुने भए पनि राष्ट्रपति र उपराष्ट्रपतिका लागि सहमतिको प्रयास भइरहेको बताउँदै दाहालले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ। छलफल भइरहेको छ। सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो। हामी प्रयास गरिरहेका छौं।’ एमालेको समर्थन लिएर प्रधानमन्त्री बन्ने क्रममा दाहालले सभामुख र प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारी गरेका थिए।  

तर कांग्रेससमेतले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको बताउँदै आएका प्रधानमन्त्री दाहाल पार्टीभन्दा बाहिरका स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्ने रणनीतिमा छन्। त्यसमा कांग्रेस र एमाले दुवैलाई मनाउने दाहाल रणनीति छ। त्यसको पूर्वसंकेत पाएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निष्पक्ष हुनुपर्छ भन्ने नाममा दलभन्दा बाहिरबाट ल्याउने कुरा उपयुक्त नभएको बताएका छन्।  

पार्टीभित्र सहमति निर्माण गरी आफंै राष्ट्रपति बन्ने रणनीतिमा रहेका नेम्वाङ संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा व्यावहारिक नहुने बताउँछन्। ‘यस्तो भन्नु र गर्नु दलहरूले आफैंमाथि अविश्वास गरेसरह हो,’ सञ्चारकर्मीसँग बिहीबार कुराकानी गर्दै उनले भने, ‘दलभन्दा बाहिरका व्यक्तिलाई संवैधानिक पद सुम्पिने कुरा मलाई चाहिँ ठिक लाग्दैन।’ दलहरूले नै राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार अघि सार्न सक्नुपर्ने धारणा  

राख्दै उनले भने, ‘दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ, जसले संविधानले कल्पना गरेको काम गर्न सक्नुपर्छ।’

एमाले र कांग्रेस दुवैलाई समदुरीमा राखेर माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधशी कल्याण श्रेष्ठको नाम अघि सार्न लागेको स्रोतको दाबी छ। तर एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहेको छ।  

संविधानले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने भने पनि भण्डारी नयाँ संविधानको व्यवस्थाअनुसार एकपटक मात्र राष्ट्रपतिको जिम्मेवारीमा पुगेको उनी निकटको बुझाइ छ। राष्ट्रपतिमा एमालेभित्र नेम्वाङ, ईश्वर पोखरेल, डोरमणि पौडेलसहितको नाम पनि चर्चामा छ। नेम्वाङलाई रोक्न पोखरेल, पौडेलसहितका नेताको नाम एमालेभित्रैबाट अघि सारिएको जनाउँदै एक नेताले भने, ‘सभामुखमा देवराज घिमिरेजस्तै गरी राष्ट्रपतिमा पनि पार्टीले उपमहासचिव विष्णु रिमाल वा त्यस्तै व्यक्ति अघि सार्न सक्छ।’ एमालेभित्र राष्ट्रपतिको उम्मेदवारका विषयमा औपचारिक छलफल नभएको बताउँदै रिमालले आफू अहिले लाभको पदमा जानेभन्दा पार्टीमै बसेर काम गर्न चाहेको बताएका छन्।  

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेस अहिलेको सत्ता गठबन्धन टुटाएर सत्ता राजनीतिमा फर्कने प्रयासमा छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद चन्द्रकान्त भण्डारीले राष्ट्रपतिलाई मिसन बनाएर अहिलेको सत्ता गठबन्धन टुटाउन आफूहरू लाग्ने बताए। ‘माओवादीसहित हामी चुनावमा गठबन्धनमा थियौं। कांग्रेस नेतृत्वको त्यो गठबन्धन टुट्यो भने यो पनि टुट्छ,’ उनले भने, ‘हामी माओवादीसहित चार पार्टीको गठबन्धनमा चुनावमा ग¥यौं, सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो। अहिले अर्को गठबन्धन बनेको छ, त्यसलाई टुटाउन हामी चाहन्छौं।’

वर्तमान सत्ता गठबन्धन टुटे वा माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने अवस्था आएमा पार्टीले रामचन्द्र पौडेललाई अघि सार्नसक्ने अनुमान गरिएको छ। तर कांग्रेसभित्र पनि राष्ट्रपतिका लागि कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठसहितका आकांक्षी छन्। पौडेलले सभामुखको निर्वाचनअघि बिहीबार पनि प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेका छन्। राष्ट्रपति निर्वाचन फरक ढंगले अघि बढिरहेको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति नै शीतल निवासमा राष्ट्रपतिका रूपमा जाने दाबी गरेका थिए। राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। तीन तहका मतदाताको मत भार अलगअलग भए पनि अहिलेको सत्ता गठबन्धन कायमै रहेको अवस्थामा उसले अघि सारेको व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ।

प्रकाशित: ६ माघ २०७९ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App