१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तीन महिना भित्र भ्रष्टाचार शून्य गरिदिन्छु: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका छन्।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिए लगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शून्यमा पुर्‍याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो।

उनले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय छानबिन समिति गठन गरेको पनि स्मरण गराए। मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्य योजनासमेत सार्वजनिक गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो। मुख्यमन्त्री यादवले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो। अव मैले तीन महिना भित्र प्रदेश सरकारका जति कार्यालयहरू छन्। त्यसमा भ्रष्टाचार शून्य गरिदिन्छु। र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु। पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरूको छानबिन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानबिन समिति गठन गरिदिएको छु। सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु। आवश्यक पर्‍यो भने पूरक बजेट पनि ल्याउन सकिन्छ।’

त्यस अवसरमा उनले आवश्यक परे पूरक बजेट ल्याउन सकिने पनि बताए। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए। मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन्।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए। १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहेका थिए।

प्रकाशित: ४ माघ २०७९ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App