१५ चैत्र २०८० बिहीबार
राजनीति

यस्ता छन् नयाँ मन्त्री

राजेन्द्र लिङ्देन, उपप्रधान/ऊर्जा, जलस्रोत तथा सिँचाई

पूर्वपञ्चहरूको पार्टीको रूपमा लिइने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अघिल्लो प्रतिनिधिसभामा लिङ्देन एक्लो सांसद थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा–३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लिङ्देनका लागि छाड्न नमानेपछि तत्कालीन वामगठबन्धन (एमाले–माओवादी) केन्द्रको सहयोगमा उनै सिटौलालाई हराएर उनी प्रतिनिधिसभामा चुनिएका थिए। २०७४ पछिको प्रतिनिधिसभा यात्राले भने लिङ्देनका लागि राजनीतिक छलाङ हासिल गर्ने अवसर बन्यो। यस क्रममा राप्रपाले उठाउँदै आएको राजतन्त्र र हिन्दु राज्यको मुद्दामा झन् मुखरित हुँदै गए। लिम्बुको छोराले यी मुद्दा उठाएको भन्दै चर्चा बटुल्दै गए। यस्तै ‘भ्रष्टाचार गर्नु, आमाको रगत खानुसरह हो’ भन्दै उनले दिँदै आएको भ्रष्टाचारविरोधी अभिव्यक्ति पनि धेरैले रुचाएका छन्।  

यही लोकप्रियताको बलमा लिङ्देनले आफ्ना पुराना नेता कमल थापालाई नै पछार्न सफल भए। पार्टीको महाधिवेशनमा उनै थापाविरुद्ध उम्मेवारी दिएर अध्यक्ष पद जिते। जसमा पूर्वराजसंस्थाको पनि सहयोग मिलेको बताइन्छ। राप्रपाको गिर्दो साखबीच लिङ्देनको लोकप्रियताले राप्रपालाई पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा १४ सिट दिलाउन सफल भएको छ। सो निर्वाचनमा उनी झापा–३ मा एमालेको सहयोगमा पुनः कांग्रेसका सिटौलालाई हराएर निर्वाचित भएका थिए। राजनीतिक परिस्थितिले लिङ्देन पछिल्लो समय गृह जिल्ला झापावासी नै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका थिए। सोही निकटतासँगै राप्रपाको पछिल्लो गणित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बनाउन प्रयोग भयो।  

यसरी माओवादी केन्द्रसँग सत्ता साझेदार बन्दा राप्रपामाथि धेरै टीकाटिप्पणी पनि भइरहेको छ। पूर्वराजसंस्थाले समेत त्यो विषय नरुचाएको चर्चा पनि छ। यद्यपि राजावादी नारा बोक्ने लिङ्देन गणतन्त्रका लागि संघर्ष गरेका दाहालको नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन्।  

अब राज्यको मन्त्री बनेपछि लिङ्देन आफैंले विगत बोक्दै आएका राजतन्त्र र हिन्दु राज्यका मुद्दामा के गर्छन् ? यसबारे उनको दृष्टिकोण र गतिविधि के हुन्छ ? त्यो भने हेर्नलायक हुने नै छ। साथै विगतमा उनले दिँदै आएको भ्रष्टाचारविरोधी मुद्दामा उनी कत्तिको खरो उत्रिन्छन्, त्यसमाथि पनि सबैको नजर हुनेछ।

रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

दाङ क्षेत्र नम्बर–२ मा पूर्वसभामुख कृष्णबहादुर महराले लड्न इनकार गरेपछि माओवादी केन्द्रले स्थायी कमिटी सदस्य रेखा शर्मालाई अगाडि सारेको थियो। जहाँ एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार थिए। एमालेका हेबिवेट उम्मेदवारसँग लड्दा वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा उनी निर्वाचित भइन्। उसो त शर्मा संविधानसभा निर्वाचन २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद चुनिएकी थिइन्। २०७२ देखि २०७३ कात्तिकसम्म एक वर्ष सामान्य प्रशासनमन्त्रीसमेत बनिन्। त्यसपछि केही समय माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पनि बनेकी थिइन्। त्यसअघि २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी थिइन्। यही यात्राका क्रममा माओवादीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भएकी थिइन्। २०५७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उपब्युरोको इन्चार्जको भूमिका पनि निर्वाह गरेकी छन्।

सशस्त्र संघर्षकै क्रममा उनी पति कृष्णध्वज खड्कासँगै पक्राउ परेर केही समय तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमा बन्दीसमेत भएकी थिइन्। शर्मा आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहन्छिन्। यस्तै कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि रहेको बताउने गर्छिन्। उनै शर्मालाई माओवादी केन्द्रले यस पटक सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी थमाएको छ।

विक्रम पाण्डे, सहरी विकास  

राप्रपा उपाध्यक्ष पाण्डेले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन्। दाहाल नेतृत्वको २०७३ सालमा गठन भएको सरकारमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका पाण्डे २०७४ को आम निर्वाचनमा दाहालसँगै चितवन–३ बाट पराजित भएका थिए। २०७८ मंसिरमा भएको महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित पाण्डे फेरि दाहाल नेतृत्व सरकारमै मन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

विमला राई पौड्याल, परराष्ट्र

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनित विमला राई पौड्याल परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेकी छन्। राष्ट्रियसभाको ६ वर्षे कार्यकालमध्ये एक वर्ष बाँकी हुँदै एमालेले उनलाई परराष्ट्र मन्त्री बनाएको हो। उनी २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनित भएकी थिइन्। त्यसपछि उनलाई राष्ट्रपति भण्डारीले आफ्नो सचिवालयमा विज्ञका रूपमा राखेकी थिइन्। राष्ट्रपति कार्यालयमा कार्यरत रहेकै अवस्थामा सरकारको सिफारिसमा उनी राष्ट्रियसभा सदस्यमा मनोनित भएकी थिइन्।  

पौड्यालले नेदरल्यान्डको इन्स्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधि, संयुक्त अधिराज्यको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा पोस्ट ग्य्राजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन्। भोजपुरमा जन्मिएकी उनले लैंगिक समानता, सामाजिक समावेशिता र संरक्षणका क्षेत्रमा पनि काग गरेकी छिन्। रिकफ नेपाल, ओपन सोसाइटी फाउन्डेसन, युएन ओमन इन नेपालमा समेत काम गरेको अनुभव उनीसँग छ। सन् २०१६ देखि २०१८ सम्म युएन ओमनका लागि प्रांगारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदलको सदस्य भएकी उनलाई बौद्धिक मन्त्रीको रूपमा लिइएको छ।  

पदम गिरी, स्वास्थ्य तथा जनसंख्या

पर्वतको कुस्मा नगरपालिका–३ मा जन्मिएका पदम गिरीले स्वास्थ्य मन्त्रालय सम्हालेका छन्। २०५० सालमा औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका गिरी २०५५ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस पोखरा प्रारम्भिक कमिटी सचिव, स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष, २०६२ सालमा सोही क्याम्ससमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए। अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित गिरी स्ववियु परिचालन विभाग प्रमुख पनि बनेका थिए। विशेष जिल्ला कमिटी सदस्य हुँदै उनी पर्वतको पार्टी राजनीतिमा स्थापित भएका हुन्।  

एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सचिवालय सदस्यमा निर्वाचित उनी आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भएका थिए। उनी २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा एमालेबाट उम्मेदवार बनेका थिए। २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालमा भएका संविधानभास सदस्य निर्वाचन जितेका कांग्रेसका अर्जुन जोशीलाई १२ हजार ४५६ मतले हराएपछि गिरी चर्चामा आएका थिए। एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइन्चार्ज बनेका गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रोपटक एमालेबाट निर्वाचित भएका हुन्। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतमा एमालेले सबै सिट जित्यो। मन्त्रीको कार्यभार सम्हालेलगत्तै गिरीले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धता गरेका छन्।  

भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी भगवती चौधरी संविधानसभा सदस्य निर्वाचन, २०७९ मा सुनसरी ३ बाट निर्वाचित भएकी हुन्। लामो समयदेखि सुनसरी ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले चुनाव जित्दै आएका थिए। २०४८ सालदेखि लगातार निर्वाचन जितेका गच्छदारलाई यसपटक रोक्दै चौधरी विजयी भएकी हुन्। चौधरीले ४० हजार ८७८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गच्छदारले ३५ हजार ६०० मतमा सीमित भए। २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा गच्छदारसँग ३६२ मतअन्तरले पराजित भएपछि चौधरीले सर्वोच्च अदालतमा मुद्दा हाले पनि अझै फैसला भएको छैन। महेन्द्र मोरङ क्याम्पसमा पढ्दा २०४६ सालको जनआन्दोलनमा भाग लिएकी उनले ०४८ सालमा एमालेको सदस्यता लिएकी थिइन्। सुनसरीमा फरवार्ड नामक लघुवित्त संस्था स्थापना गरेर सयौं महिलालाई रोजगारी दिएकी चौधरीले गच्छदारले सरकारमा बसेर २० वर्षमा गर्न नसकेको काम आफूले ५ वर्षमा गरेर देखाउने वाचासहित निर्वाचन जितेकी हुन्।

हरि उप्रेती, रक्षा

रक्षामन्त्रीको जिम्मेवारी पाएका हरि उप्रेती एमाले नेता हुन्। उनी सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। २०२४ सालमा सर्लाहीमा जन्मिएका उप्रेती अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा आएका हुन्। उनी २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७ सय ७० मतले हराएका हुन्। उप्रेतीले ३२ हजार ९३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी साहले ३२ हजार १६८ भोट पाएका थिए। रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उप्रेतीले सेनाको भौतिक संरचनालगायतमा सुधार ल्याउने बताएका छन्।  

सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षका एक नेता हुन् सुदन। त्यस क्रममा उनी एक वर्ष जेलसमेत परेका थिए।  

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा जाँदा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी भोजपुरबाट निर्वाचित भएका थिए। त्यसपछि वामगठबन्धनको सहयोगमा २०७४ को प्रतिनिधिसभामा पनि जितेका थिए।  

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनबाट जित्दा उनी तेस्रोपटक संसद्मा पुगे। पछिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई यस पटक मन्त्री बनाउने वाचा गरेका थिए। अहिले दाहालले किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएर वाचा पूरा गरेका छन्। अब सशस्त्र जनयुद्धका कमान्डरले कसरी काम गर्छन् ? त्यो भने सबैले हेर्न बाँकी छ।  

अमनलाल मोदी, संघीय मामीला तथा सामान्य प्रशासन  

३७ वर्षीय युवा अमनलाल मोदी तेस्रो पटकको संसद् यात्रामा सामान्य प्रशासनमन्त्री बनेका छन्। मोदी सशस्त्र जनयुद्धका बेला माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको मोरङ जिल्ला कमिटी अध्यक्षसमेत बनेका थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो पटक समानुपातिकबाट चुनिएका थिए। त्यसपछि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट मोरङ–४ मा उठेका थिए। जसमा विजयी भए। पछिल्लो निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

शिशिर खनाल, शिक्षा, विज्ञान तथा प्रविधि

विगतमा शैक्षिक अभियन्ताको भूमिकामा देखिएका शिशिर खनालले पृष्ठभूमिअनुसारकै शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। शिक्षा मन्त्रालय पाएसँगै धेरैले उनीमाथि आशाको नजरले हेरेका छन्। पछिल्लो निर्वाचनमा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–६ बाट निर्वाचित भएका हुन्। सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी लिएका थिए। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका छन्। विगतमा शैक्षिक अभियन्ताका रूपमा काम गरेका खनालका लागि अब नेपालको शिक्षा प्रणाली, सामुदायिक शिक्षाको खस्कँदै गएको स्तर, धराशयी हुँदै गएका विश्वविद्यालय, भ्रष्ट तथा माफियाको अखडा बन्दै गएको शैक्षिक संरचनालाई नयाँ आयाम दिने चुनौती हुनेछ।  

डोलप्रसाद अर्याल, श्रम रोजगार तथा सामाजिक सुरुक्षा

रेमिट्यान्स व्यवसायीको पृष्ठभूमि रहेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले केही समय जापानमा रहेर पनि श्रम तथा रोजगार क्षेत्रमा काम गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। उनको घर धादिङ हो। उनी समानुपातिक तर्फबाट सांसद बनेका हुन्। रास्वपाले विदेशमा रहेका नेपाली श्रमिकलाई फर्काउने लोकप्रिय नारा चलाउँदै आएको छ। श्रममन्त्री नै बनेपछि अर्यालमाथि सोही नाराको कार्यान्वयनको जिम्मेवारी उनको काँधमा आएको छ।  

ध्रुवबहादुर प्रधान, कानुन, न्याय तथा संसदीय मामिला

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) रहेका ध्रुवबहादुर प्रधान पछिल्लो समय राप्रपाका उपाध्यक्ष छन्। उनी २०५३ सालमा आइजिपी बनेका थिए। २०५६ मा अवकाश भएपछि उनी राप्रपाको राजनीतिमा आएका थिए। त्यसयताका निर्वाचनमा उनी लगातार लड्दै, पराजित हुँदै आएका थिए। पछिल्लो समय उनी राजनीतिबाट बाहिरिने सोचमा समेत पुगिसकेको निकटस्थहरूले बताउने गरेका छन्। तर उनका लागि गएको प्रतिनिधिसभा निर्वाचन भने मन्त्रीसम्म बनाउने पुल बनिदिएको छ।  

यस पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट उनले कांग्रेसका पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेर निर्वाचित हुन सफल भए। यसरी निर्वाचित भएर आएपछि उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने संयोग जुरेको छ। राजतन्त्र र हिन्दु राज्यको मुद्दा बोक्ने पार्टी राप्रपाको शीर्ष नेतृत्वमा रहेका प्रधानअघि गणतन्त्र नेपालको कानुन मन्त्रालय हाँक्ने नैतिक अधिकार र भूमिकामाथि धेरैले संशय पनि व्यक्त गरेका छन्।

सुशीला श्रीपाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री

पर्यटन राज्यमन्त्री बनेकी श्रीपालीसँग कम्युनिस्ट आन्दोलनको लामो अनुभव छ। उनी २०४६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी थिइन्। माओवादीले सशस्त्र संघर्ष थालेपछि श्रीपालीले पनि भारतमा रहेर त्यसमा जोडिएकी थिइन्। २०५४ देखि भने नेपालमै रहेर संघर्षमा लागेकी थिइन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छिन्। उनीसँगै उनका पति डम्मरसिंह ठकुरी पनि माओवादीको संघर्षमा होमिएका थिए। ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन्। २०६८ मा श्रीपाली दलित आयोगको सदस्य भएकी थिइन्। उनी अहिले समानुपातिक सांसद हुन्।  

डा. तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

मंसिरमा सम्पन्न निर्वाचनमात्र निर्वाचन आयोगद्वारा उम्मेदवारी बदर गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की त्यसपछि अदालत पुगेकी थिइन्। अदालतले आयोगको निर्णय बदर गरिदियो। त्यसपछि उम्मेदवारी कायम रहँदा कार्कीले ललितपुर–३ मा बहालवाला मन्त्री पम्फा भूसाललाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। यसरी सांसद भएकी कार्कीलाई ३३ वर्षको कलिलो उमेरमै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हात लागेको छ। उनी यसअघि मेडिकल काउन्सिलको सदस्य भइसकेकी छन्। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको अनुभव छ। यसै क्रममा चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा पनि कार्की सक्रिय थिइन्। अब उनका अगाडि आफ्नो पृष्ठभूमि जोडिएको विभागीय मन्त्रालयका काम गरेर देखाउने चुनौती छ।

दीपकबहादुर सिंह, ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री

सुदूरपश्चिमको दार्चुला पुख्र्यौली घर भएका सिंह हेटौंडाका लोकप्रिय समाजसेवी हुन्। राप्रपाका पुराना नेता रहेका सिंह पटक–पटक चुनाव लड्दै आएका थिए। जसमा लोकप्रिय मत बटुले पनि जित भने हात लागेको थिएन। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने मकवानपुर–१ बाट उम्मेदवार भएर हेबिवेट उम्मेदवार हराउँदै निर्वाचित भए। एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका आफ्नै पुराना नेता कमल थापा र कांग्रेसका डिना उपाध्यायलाई उनले हराएका हुन्। सिंह पछिल्लो पटक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएका बेला मकवानपुरको जिविस सभापति भएका थिए।

प्रकाशित: ४ माघ २०७९ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App