८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

यी हुन् प्रधानमन्त्री दाहालका सारथि

मन्त्रिपरिषद् २३ सदस्यीय, ४ उपप्रधानमन्त्री, १५ मन्त्री, ३ राज्यमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेको झन्डै एक महिना हुन लाग्दा मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीसँगको निरन्तर छलफलपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारित मन्त्रिपरिषद् चार उपप्रधानसहित २३ सदस्यीय छ।

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका दाहालले सोही दिन एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। दाहालले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउँदै २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको हो। लिङ्देनले उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। लिङ्देनसँगै दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। यसअघि सरकार गठन हुँदा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए।  

दाहालले मन्त्रिपरिषद् विस्तार गरी थप १५ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीसहितको जिम्मेवारी तोकेका छन्। जसमा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे सहरी विकास, ज्वालाकुमारी साह कृषि तथा पशुपछी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सघीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र ध्रुवबहादुर प्रधानलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्मा तीनजना राज्यमन्त्री छन्। जसमा सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या र दिपकबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन्।  

संविधानतः २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न पाइन्छ। मन्त्रिपरिषद्मा अझै दुई मन्त्री प्रधानमन्त्री दाहालले थप्न सक्ने छन्। २३ सदस्यीय मन्त्रिपरिषद्मा १६ जना नयाँ अनुहार छन्। मन्त्रिपरिषद्मा ४ मन्त्री र २ राज्यमन्त्री गरी ६ जना महिला छन्। सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाहेक अन्य दलले महिलालाई स्थान दिएका छन्।  

एमालेबाट तीन, माओवादीबाट दुई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक महिला सरकारमा मन्त्री-राज्यमन्त्री छन्।  

दाहाल नेतृत्वको विस्तारित मन्त्रिपरिषद्मा एमालेबाट आठ, माओवादी केन्द्रबाट पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार÷चारजना छन्। अन्य दलको तुलनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्वपूर्ण मन्त्रालयसहित धेरै संख्या पाएको छ। राप्रपाले प्रदेशमा मुख्यमन्त्री दाबी छाडेपछि एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको कोटाबाट थप एक मन्त्री र एक राज्यमन्त्री दिने आश्वासन उसलाई दिएका थिए। सोही अनुसार उसले एक राज्यमन्त्रीसहित चार मन्त्रीको भाग पाएको हो। नवनियुक्त मन्त्रीहरूले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसँगै कार्यभार सम्हालेका छन्।

प्रकाशित: ४ माघ २०७९ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App