१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीनिवास धाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बालकोटमा भेटवार्ता। तस्बिर: रासस

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन्। एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन्।  

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि पुस २७ गते मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफल गर्न भन्दै दाहाल ओलीनिवास पुगेका थिए। पुस २८ गते नै मन्त्रि–परिषद्लाई पूर्णता दिँदै कार्यविभाजन गर्ने दुई नेताबीच पूर्वसहमति भएको थियो। तर दाहाल र ओलीबीच मन्त्रालय भागबन्डा र कार्यविभाजनमा सहमति जुट्न सकेन। र, अर्को बैठक गर्नेगरी दुई नेता बालकोटबाट उठेका थिए। त्यसबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको थियो। तर मन्त्रिपरिषद्सहित विषय टुंगो लगाउन दाहाल सोमबार बिहान फेरि ओलीनिवास बालकोट पुगे।  

पाँच घण्टा लामो छलफलपछि दुई नेता प्रतिनिधिसभामा सांसद संख्याका आधारमा मन्त्रालय भागबन्डा गर्ने समझदारीमा पुगेका छन्। दुई नेताबीच सहमति जुटेलगत्तै साँझ सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसेको हो।  

विगतमा उनै ओली प्रधानमन्त्री रहेका बेला सत्ता साझेदार दलका निवासमा मात्र होइन, आफ्नै पार्टीका नेताको घरमा पनि जाँदैनथे। तर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई ओलीले पाँच दिनमा दुई पटक निवासमा बोलाएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि नामलाई लिएर सर्वोच्च अदालतको आदेशपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली दाहालनिवास पुगेका थिए। त्यसको अलावा पार्टीभित्र अप्ठ्यारोमा परेपछि ओली नेता वामदेव गौतमनिवास पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पनि ओली एक पटक मात्र बुढानीलकण्ठ पुगेका थिए। आफ्नै र अन्य दलका नेतालाई पनि प्रधानमन्त्रीको सरकारीनिवासमै भेट्ने गरेका ओलीले अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन्।

सो संयन्त्रले नै नीति तथा कार्यक्रम बनाउने र सरकारले कार्यान्वयन गर्ने उनले प्रतिनिधिसभाको पहिलो बैठकमा राखेका थिए। साथै, विगतमा दुई पटक प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको ओलीले प्रतिनिधिसभा बैठकमा बचाउ गरेपछि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालका साथै प्रमुख प्रतिपक्षी दल झस्किन पुगेका थिए। ओलीले दाहाललाई प्रयोग गरेर फेरि प्रतिनिधिसभा विघटन गर्नसक्ने भन्दै प्रतिपक्षी कांग्रेससहित दलहरूले संविधानको रक्षा र संसद्को पूर्ण कार्यकालका लागि भन्दै प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएका छन्।  

सोही दिन साझा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा ओली प्रधानमन्त्री जस्तो र दाहाल साझेदार दलको हैसियतमा देखिएका थिए। त्यसले सार्वजनिक रूपमै प्रश्न उठे पनि दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफलका लागि अहिले पनि निरन्तर ओलीनिवास धाउँदै आएका छन् ।

प्रकाशित: ३ माघ २०७९ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App