खोटाङ–खोटाङमा कांग्रेस–एमालेका कारण स्थानीय तहको पुर्नसंरचनाको खाकाको संख्यामै बखेडा निस्किएपछि नेकपा माओवादीसहितका ८ दलले असन्तुष्टि जनाएका छन्। आफूहरु आफ्नो खाकाको विषयमा एक ठाउँमा बसेर छलफल गर्न तयार भएपनि कांग्रेस–एमाले आफ्नो खाकामा तलमाथि गर्न नसकिने अडानमा बसेपछि अन्य दल असन्तुष्ट बनेका हुन्।
प्रेस चौतारी नेपालले आयोजना गरेको अत्रक्रियामा सहभागी साना दलका नेताले कांग्रेस–एमालेप्रति आक्रोश पोखेका हुन्। माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, संघीय समाजवादी फोरम, नेकपा माले, खम्बुवान, नेकपा माओवादी क्रान्तिकारी र नयाँशक्तिका नेताले कांग्रेस–एमालेलाई गाउँपालिका र नगरपालिकाको संख्यामा नअल्झिन आग्रह गरेका छन्।
साना दलका नेताले भने कांग्रेस–एमालेलाई भोट बैंकलाई सुरक्षित गर्नेमाभन्दा दलगत स्वार्थभन्दा माथि उठेर जनताको सहुलीयत र सुविधालाई प्राथमिकतामा राखेर स्थानीय तहको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेस–एमाले गाउँपालिका र नगरपालिकाको संख्यामै अल्झिएका कारण स्थानीय तहको सीमाना, संरचना, स्वरुप र केन्द्रका बिषयमा बहस र छलफल पुग्न नपाएको उनीहरुको आरोप छ। गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले ९ वटा गाउँपालिका र नगरपालिका प्रस्ताव गरेको खोटाङमा अहिलेसम्म दलगत स्वार्थका कारण साझा संख्या निर्धारण हुन सकेको छैन्। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा १२ वटा स्थानीय तह बनाइनुपर्ने कांग्रेस र ९ वटा हुनुपर्ने एमालेको प्रस्ताव छ।
माओवादी केन्द्रसहितका दल आफूहरुले तयार पारेको खाकामा लचिलो देखिए पनि एमाले ९ वटा र कांग्रेस १२ वटा गाउँपालिका हुनुपर्ने अडानमा छ। कांग्रेस र एमाले संख्यालाई समाएर बसेपछि गाउँपालिका र नगरपालिकाको संख्या र खाकाको विषयमा छलफल गर्न आयोजित बैठकलेसमेत निरन्तरता पाउन सकेको छैन।
जसका कारण तीन समुहमा बनाइएको स्थानीय तह खाका निर्माण समुहले आफ्नो काम गर्न सकेन। साउन–२४ गतेभित्र स्थानीय तहको साझा खाका बनाउने स्थानीय तह पुःर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यतालिका प्रभावित बनेको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए। दलका नेताहरु स्थानीय तहको संख्यामै अल्झिएपछि त्यसको सीमाना र केन्द्र टुंगो लगाउने विषय झनै जटिल हुने देखिएको छ।
प्रकाशित: २५ श्रावण २०७३ ०६:४३ मंगलबार