८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- सत्ताबाट बाहिरिँदै गरेको नेकपा एमालेले बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने भएको छ। अहिलेको सरकार हटाउन प्रमुख भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सर्वसम्मत प्रधानमन्त्री बन्न नदिन एमालेमा एकमत देखिए पनि उम्मेदवार टुंगो भने लागेको छैन। नयाँ गठबन्धनले दाहाललाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ।

एमालेमा पार्टीभित्रैको व्यक्तिलाई उम्मेदवार बनाउने वा सरकारमा अन्तिम समयसम्म साथ दिने दलका उम्मेदवारलाई अघि बढाउने भन्ने विषयमा निर्णय भइसकेको छैन। एमालेमा पार्टी उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमध्ये एकलाई उम्मेदवार बनाउनेबारे छलफल जारी छ।

'हाम्रोतर्फबाट निश्चित रूपमा उम्मेदवारी पर्नेछ तर कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय हुन्छ,' एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नागरिकसँग भने। पछिल्लोपटक अविश्वास प्रस्ताव सामना गर्नुअघि स्थायी कमिटी बैठक बसेको थियो।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई मत नदिने बताए। 'अहिलेसम्म उम्मेदवार को हो भन्ने विषयमा टुंगो लागेको छैन तर दाहाललाई भने मत जाने छैन,' ढकालले नागरिकसँग भने, 'आमचुनाव जस्तो धेरै ठाउँमा प्रचार–प्रसार गर्नुपर्ने होइन, पार्टीले बैठक बसेर वा अध्यक्षले नेताहरूसँग परामर्श गरेर पनि उम्मेदवारको टुंगो लगाउने छौं।' उनले को उम्मेदवार हुने भन्ने विषय टुंगिनसकेको बताए।

प्रकाशित: १७ श्रावण २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App