२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन चाँडै टुट्ने आशामा कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु लामो नभएको दाबी गरेको छ। दाहाल नेतृत्वको सरकारले विश्वासको मतसमेत लिन बाँकी रहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले सात दलीय गठबन्धनमा आपसी विरोधाभास रहेकाले आयु छोटिने दाबी गरेको हो। दाहाल नेतृत्व सरकारले पूर्णता नपाउँदै वर्तमान गठबन्धन टुट्ने र आफ्नो दल सत्तामा पुग्ने आशामा कांग्रेस देखिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दाहाल नेतृत्वको सात दलीय गठबन्धनमा कसले ठुलो जिम्मेवारी पाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाए। ‘यो गठबन्धन ठुलो विरोधाभासमा छ। यो गठबन्धन स्वाभाविक देखिँदैन। त्यहाँ पदको प्रतिस्पर्धा चलिरहेको छ,’ महतले भने, ‘यो गठबन्धनको आयु छोटिने सम्भावना देखिराखेका छौं।’

पूर्वसहमति र प्रतिबद्धताविपरीत माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस नेतृत्व गठनबन्धन तोडेर गएको धारणा राख्दै महतले भने, ‘विश्वास गर्नुको विकल्प थिएन तर उहाँले त्यसलाई तोडेर जानुभयो। आफ्नै प्रतिबद्धता तोडेर किन जानुभयो भनेर उहाँ (दाहाल) ले नै जवाफ दिनुहोला।’

सभापति शेरबहादुर देउवासहित निकटहरूका कारण गठबन्धन टुट्दा कांग्रेस सत्ताविहीन हुन पुगेको भन्दै पार्टीभित्रबाटै तीव्र आलोचना भइरहेका बेला प्रवक्ता महतले भने माओवादी केन्द्रका अध्यक्ष दाहालका कारण अहिले गठबन्धन टुटेको बताए। कांग्रेसले गठबन्धनका नेताहरूको कुरामा विश्वास गगरेको तर अन्य दलका नेताहरू इमानदार भएको भन्दै महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आकलन गरेजस्तो हुँदैन।’ पार्टी कार्यसम्पादन समितिले संसद्को ठुलो दलको हैसियतमा सरकारको नेतृत्व दाबी गर्ने निर्णयअनुसार नै कांग्रेसले नेतृत्व दाबी गरेको महतले बताए।

अहिले परिणाम नआउँदा पार्टी नेतृत्वसहित छलफलमा रहेका नेताहरूको आलोचना गर्नुको कुनै अर्थ नरहेको जिकिर गर्दै उनले जिम्मेवार नेताले पार्टीभित्र छलफल नगरी बाहिर कुरा गर्दै हिँड्नुको कुनै अर्थ नभएको पनि बताए। पदाधिकारी र नेताहरूको काम पार्टी र मुलुकको हितअनुकूल निर्णय गराउनतिर लाग्नु रहेको उनको भनाइ थियो।

‘बोलाएन भनेर बाहिर बस्ने हुँदै होइन, ससाना कुरामा बाहिर कुरा राख्ने नेताहरूले पार्टी नेतृत्वलाई भेटेर भन्न सक्नुपर्थ्यो वा परिस्थितिलाई सम्हालेर आफूलाई साबित गर्नुपथ्र्यो,’ उनले भने। प्रधानमन्त्रीसहित सबै पद गुम्दा आलोचना गर्ने नेताहरूले माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर अहिलेको गठबन्धन कायम राखेको भए पनि अहिले त्यसरी नै आलोचना हुने महतको दाबी छ। ‘दाहालकै नेतृत्वमा सरकार बनाइएको भए पनि एकथरी साथीहरूबाट ३२ सिटको माओवादीलाई नेतृत्व सुम्पेर ८९ सिट भएको कांग्रेसलाई पुच्छर बनाएको भनेर आलोचना हुन्थ्यो नै,’ उनले भने, ‘तर पनि तत्कालीन गठबन्धनलाई निरन्तरता दिनुपथ्र्याे भन्नेमा विमति छैन।’

पार्टीको निर्णय र कार्यान्वयन गर्ने तहमा रहेका नेताहरूले विज्ञप्ति जारी गरेर माग गर्नुनपर्ने पनि उनले बताए। पार्टीको नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संगठनलाई पूर्णतासहितका विषय केन्द्रीय समिति बैठकपछि टुंगोमा पुग्ने उनले दाबी गरे।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि ती निकायलाई पूर्णता दिने कुरामा सबैको सहमति रहेको दाबी गर्दै महतले भने, ‘कार्यान्वयन तहमा भएका नेताले माग गर्ने होइन।’ अहिलेको अवस्थाप्रति पार्टीका नेता तथा कार्यकर्तामा निराशा बढ्दै गएको बताइरहेका बेला पार्टी सभापति देउवा भने आशावादी रहेको महतको दाबी छ। ‘विचलित हुनुपर्ने अवस्था केही छैन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ।’ यसैबीच कांग्रेसले पुस २२ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठक २८ गतेका लागि सारेको छ। 

प्रकाशित: २१ पुस २०७९ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App