८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुक सङ्कटको अवस्थामा छ, दलहरु आपसी सहमतिका साथ अघि बढ्नुपर्छ: महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबिच सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका छन्। 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन्। अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलकाबिच मा सहमति र सहकार्यको खाँचो रहेको बताए।

उनले भने, 'यतिखेर सके सबै दलबिचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो। विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गीकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ।' मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए।

देशमा वृहत् शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सहमति भएको भन्दै उनले यी दुबै पक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए।

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्ने विरुद्ध आफूहरूको लडाइँ रहेको बताउँदै उनले यही पद्धति अङ्गीकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने जिकिर गरे।

अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो। उनले भने 'मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावका साथ अघि बढ्ने समय आएको छ।'

प्रकाशित: १९ पुस २०७९ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App