२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन्। उनसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए।

उनले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताएको स्मरण गरे। ‘त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि हुनुभयो र मुख्यमन्त्री पनि बन्नुभयो’, उनले भने, ‘यहाँ आउने योजना बनाइरहेको भए पनि समयको समायोजन हुन सकेको थिएन, ढिलै भए पनि अवलोकन गर्न भनेर आएको छु।’

जेललाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो। ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहका रूपमा बनाउनुपर्ने हो, तर पनि त्यो गर्न नसकेको अवस्था छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तथापि उहाँहरूलाई प्रत्यक्ष भेटौं भन्ने उद्देश्यसाथ हामी यहाँ आएका हौं।’

कारागार निरीक्षणपछि आफूले जेल जीवन बिताएको समयभन्दा अहिले धेरै सुधार भएको उनले बताए। ‘हाम्रो पालामा सुत्नै साह्रै गाह्रो हुन्थ्यो। अरू समस्या त केके थिए केके’, उनले भने, ‘अहिले धेरै सुधार भएको छ तर त्यो अझै पर्याप्त छैन। यसलाई सुधार गर्दै लैजानुपर्छ।’

त्यस अवसरमा प्रदेशका आन्तरिक मामिलामन्त्री विश्वकर्माले कारागार सुधारका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताए। प्रदेशका ११ वटै जिल्ला कारागारका लागि ६० लाख रुपैयाँ बजेट छुट्इयाएको उनले बताए।

कास्की कारागारमा अहिले आठ सय ११ कैदीबन्दी रहेको जेलर महेन्द्रबहादुर कुँवरले जनाए। त्यसमा ३६ महिला र सात सय ७२ पुरुष छन् भने तीन आश्रित नाबालक छन्। २०२२ सालमा स्थापना भएको उक्त कारागारमा २० महिला र चार सय पुरुष गरी चार सय २० कैदीबन्दी राख्न सक्ने क्षमता रहेको उनले बताए। रासस

प्रकाशित: १३ पुस २०७९ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App