६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

तस्बिर: दिपक बोहराको फेसबुकबाट।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सोमबार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गरेका हुन्।

उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पारे।

विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाई थियो। उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गरे।

उनले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो¥याए। उपप्रधानमन्त्री लामिछानेले भने, ‘हामी यो भन्दा अघि पनि खवरदारी गर्ने काममा नै थियौं। सत्ता भित्र बसेर पनि संसदमा पनि, क्याविनेट भित्र पनि एउटा प्रतिपक्षको आवश्यक्ता पर्दछ। त्यहाँ भएका साथीहरुबाट पनि कहीँकर्त आम नजताको पीरमर्का नबुझने अथवा त्यहाँ कुनै गलत काम हुन्छ कि भनेर त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ। हाम्रो भूमिका त्यहाँ भित्र पनि एउटा प्रतिपक्षको भूमिका हुन्छ। यो मैले सबै दलका शिर्षस्थ नेताज्यूहरुसँग कन्भर्म गरेर मात्रै हाम्रो दल सरकारमा सहभागी भएको हो। त्यसकारणले सरकारले गरेको कुरामा हो मा हो। हामीले गरेको कुरामा हो मा हो। क्याविनेट मिनिष्टरहरुले जे निर्णय गरेँ, त्यसमा हो मा हो भन्न हामी सरकारमा सहभागी भएका होइनौं। आम जनताको मुद्दामा हामीले बाचापत्र मार्फत लेखेर बाचा गरेका छौं। ती बाचारहरु पूरा गर्ने सामूहिक प्रतिवद्धता हामी केही दिनमै सार्वजनिक पनि गर्छौं।

त्यो प्रतिवद्धताका लागि साझा नीति, कार्यक्रम बनाएर अगाडि बढने सम्झौता गरेर हामी यो सरकारमा आएका हौं। पदका लागि अथवा मन्त्री पद बाँडफाँडका लागि आएका होइनौं। हामी एजेन्डासहित आएका छौं। जुन केहीदिनमा सार्वजनिक हुन्छ। सम्पूर्ण दलहरु बसेर हामी सार्वजनिक गर्छौं।’

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे। स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाई थियो।

यस अघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा भव्य स्वागत गरेका थिए।

प्रकाशित: ११ पुस २०७९ १२:२७ सोमबार

रवि लामिछाने