६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस पाँच वर्षअघिकै नियतिमा

मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका सबै पद आफ्नै दलमा राख्ने अडान लिँदा प्रदेशदेखि संघसम्म नयाँ सरकारको नेतृत्व लिनबाट कांग्रेस चुकेको हो। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंमा राख्ने अडान कांग्रेसले नछाडेपछि माओवादी केन्द्र गठबन्धन त्यागेर एमालेसँग जोडिन पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री दाबी गर्न सात दिने समय सीमा दिएकी थिइन्। राष्ट्रपतिले दिएको समय सकिन लाग्दा कांग्रेससँगको गठबन्धन तोड्दै माओवादी केन्द्रले एमालेसहित विभिन्न दलको समर्थनमा सरकारको नेतृत्व लिएपछि कांग्रेस पाँच वर्षअघिकै अवस्थामा पुगेको छ। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा २०७४ सालको निर्वाचनपछि प्रदेश र संघको नेतृत्व मात्र नभएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पद गुमाउन पुगेको थियो।

संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटरबाट बाहिरिएका थिए। ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए। यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैंले राख्ने महत्त्वाकांक्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ।

निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैंले गर्ने महत्त्वाकांक्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा करिब-करिब नहुने निश्चित भएको छ। पाँच वर्षमा तीन सरकार बनाउँदै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आलोपालो नेतृत्व गर्नेमा शीर्ष नेताहरू सहमत भएका थिए। पहिलो सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अडानमा कांग्रेस रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धन कायम रहँदा एमाले सबै पदबाट विमुख हुने अवस्थामा माओवादी अध्यक्ष दाहाललाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन एमाले तयार भएको थियो। राष्ट्रपतिसहितका पद सुरक्षित गर्दै प्रधानमन्त्री छाड्न एमाले तयार भएसँगै दाहालले आइतबार साँझ नै सरकारको नेतृत्व दाबी गरेका थिए। ओली निवास बालकोटमा आइतबार दिउँसो नयाँ गठबन्धन बनाउँदै दाहालको नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको थियो। त्यसलगत्तै शीतल निवास पुगेका माओवादी, एमाले, रास्वपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र सांसदसहित पुगेका दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्ती गरेकी हुन्। सोमबार दिउँसो ४ बजे दाहालले नयाँ प्रधानमन्त्रीको शपथ लिनेछन्। प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेस अब प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ। पार्टीले सरकारदेखि महत्त्वपूर्ण पदहरू गुमाउने निश्चित भएसँगै कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि चुलिन पुगेको छ। अहिलेको परिस्थिति सभापति देउवाका कारण आएको भन्दै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्।

प्रकाशित: ११ पुस २०७९ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App