coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा जान लामिछाने तयार

प्रतिनिधिसभामा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जान तयार रहेको बताएको छ। स्रोतका अनुसार रास्वपाका अध्यक्ष रवि लामछानेले सरकारमा जाने चाहना देखाएका छन्। स्रोतका अनुसार लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी सरकारमा जाने चाहना व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्। रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पछिल्लो तीन/चार दिनयता लामिछाने र दाहालबीच तीन पटकसम्म भेट भएको बताए। देउवा र ओलीसँग पनि सरकारका विषयमा कुराकानी भएको ढकालले बताए।

सरकारमा बसेर काम गर्न सक्ने वातावरण बने रास्वपा सरकारमा जान तयार रहेको उनको भनाइ छ। ‘रास्वपाले उठाएको घोषणापत्र लागु गर्ने वातावरण बन्यो भने हामी सरकारमा जान तयार छौं’, ढकालले भने, ‘त्यसैले सरकारमा जान्नाैं भनेर हामीले भनेका छैनौं। सरकारमा जान मरिहत्ते पनि गर्दैनाैं।’ स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल र लामिछानेबीच भएको भेटवार्तामा सरकारमा जाने लामिछानेको चाहनामा दाहाल सकारात्मक देखिएका छन्।

लामिछानेले गत सोमबार र मंगलबार दुई दिन आफ्ना सबै सांसदलाई प्रशिक्षण दिएका थिए। त्यस कार्यक्रममा सरकारमा जानेनजाने विषयमा गम्भीर छलफल भएको ढकालको भनाइ छ। त्यस कार्यक्रममा पनि लामिछानेले रास्वपा सरकारमा जान सक्ने बताएका थिए। प्रशिक्षण कार्यक्रममा लामिछानेले आफ्ना सांसदलाई सरकारमा जाने विषयमा मिडियामा जथाभावी नबोल्न निर्देशन दिएका थिए, तर प्रवक्ता ढकालले भने सांसदलाई त्यस्तो कुनै निर्देशन नदिएको दाबी गरे।

पछिल्लो समयमा नागरिकताका विषयमा लामिछाने विवादमा परेका छन्। नेपालको नागरिकता त्यागी नयाँ नागरिकता लिन प्रक्रिया अघि नबढाएको विषयमा नेपाल प्रहरीले छानबिन गरिरहेको छ। ‘यस विवादले कानुनी रूपमा लामिछाने निकै अप्ठ्यारोमा परेका छन्। यसकारण पनि लामिछानेले सरकारमा जान चाहना राखेको हुन सक्छ’, स्रोतले भन्यो।

जनमत र लोसपाको पहिल्यै घोषणा

प्रतिनिधिसभाका साना दुई दल जनमत पार्टी र लोसपाका नेताहरूले भने परिणाम पूर्णरूपमा नआउँदै आफूहरू सरकारमा जान तयार रहेको भनी सार्वजनिक रूपमै घोषणा गरेका थिए। जनमत पार्टी अध्यक्ष सिके राउतले पछिल्लो दुई साता दलका नेताहरूसँग शृंखलाबद्ध रूपमा भेट गरेका थिए। जनमत पार्टीले गठबन्धनमा आबद्ध दलहरूसँग संघीय सरकारमा दुईवटा मन्त्रालय तथा मधेस प्रदेशमा मुख्यमन्त्रीको माग राखेको छ। केन्द्रमा दुईवटा मन्त्रालयमध्ये एउटा मन्त्रालय कृषि मन्त्रालय हुनुपर्ने अडान जनमत पार्टीको छ।

केही दिनअघि जनमत पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सरकारमा सहभागी हुने विषयमा सहमति जनाएका थिए। प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्।

यसैगरी लोसपाले त प्रस्टसँग आफू वर्तमान सत्ता गठबन्धनमा रहेको जनाएको छ। ‘हामी पहिल्यै सत्ता गठबन्धनमा सहभागी छौं। यही गठबन्धनमै रहेर चुनावमा गएका हौं’, लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले हामी सत्ता गठबन्धनका पक्षमा छौं भनेर फेरि निर्णय गर्न आवश्यक छैन।’

प्रकाशित: ९ पुस २०७९ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App