१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ: राष्ट्रपति भण्डारी

बुटवलमा औधोगिक प्रदर्शनी तथा पर्यटन महोत्व सुरु

राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको अर्थतन्त्रले गम्भिर चुनौतीहरु समाना गरिरहेको बताएकी छिन्।

रुपन्देही उद्योग संघको आयोजनामा बिहिबार देखि बुटवलमा सुरु भएको औधोगिक प्रदर्शनी तथा पर्यटन महोत्सवको  उदघाटन गर्दै राष्ट्रपति भण्डारीले  आयात माथिको परनीर्भरता,बढ्दो व्यापार घाटा र विदेशी मुद्राको सञ्चितीमा अभुतपुर्व चाँप पर्दा अर्थतन्त्र गम्भिर मोडमा पुगेको बताएकी हुन्।

राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएका चुनौतीको सामाना गर्न स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तर्फ ध्यान दिन सरकार र निजी क्षेत्रलाइ आग्रह पनि गरिन्।

गम्भिर मोडमा पुगेको अर्थतन्त्रलाइ सहि दिशा दिन कृषि,पर्यटन र उद्योग क्षेत्रको प्रबद्र्धन आवश्यक भएको उनले बताइन्। ‘मुलुकको व्यापार घाटालाइ  कम गर्न कृषि उत्पादन बढाउने,बन पैदावार र जडीवुटीमा आधारित आयात प्रतिस्थापन, पर्यटन प्रबद्र्धन र जलबिद्युतको स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्छ’ राष्ट्रपति भण्डारीले भनिन्।  स्थानीय तहले खेती योग्य जमिन बाँझो नराख्ने नीति अवलम्बन गर्दै उद्योगी व्यवसायीसँग सहकार्य  गर्न सके उत्पादन बढ्नुका साथै रोजगरी सिर्जना र युवाको विदेश पलायन रोक्न सकिने बताइन्।

स्वदेशी उत्पादनको प्रयोग,तुलनात्मक लाभका क्षेत्रमा लगानी  र रोजगारी सीर्जनामा राज्यले सहजीकरण गरीदिनु पर्ने उनले बताइन्। उच्च मनोबल भएका उद्यमी  र किसानहरु नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले किसान र उद्यमीहरुलाई सहज सेवा र अवसर प्रदान गर्ने तर्फ राज्यका निकाय गम्भिर हुनु पर्नेमा जोड दिइन्। अन्तराष्ट्रिय धार्मीक पर्यटकीय स्थल लुम्बिनीलाइ यस क्षेत्रका अन्य पर्यटकीय स्थलसंग जोडेर प्रबद्र्धन गर्न सके पर्यटन उद्योगहरु फष्टाउने उनको भनाइ छ। लुम्बिनीलाइ अन्तराष्ट्रिय शान्ति शहर बनाउदै सभ्यता र आधुनिकताको नयाँ संगम स्थल बनाउनु पर्नेमा उनले जोड दिइन्।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशको पर्यटन तथा समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै उनले विमानस्थलको व्यवस्थित संचालनका लागि सम्बन्धित निकायले तदरुकता देखाउनु पर्ने बताइन्। महिलाहरुको व्यवसायिक क्षमता तथा नेतृत्व विकासका लागि आर्थिक तथा मानविय लगानी वृद्धि गर्नु पर्नेमा जोड दिइन्। यस्ता औधोगिक प्रदर्शनी तथा पर्यटन महोत्सवले स्वेदशी उत्पादनको प्रबद्र्धन गर्दै उद्यमीलाइ उर्जा प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताइन्।

कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले भर्खरै निर्वाचन सकिएकाले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाइ थप गतीशीलता प्रदान गर्ने कुरालाई पहिलो प्राथमिकता दिनु पर्ने बताए। उद्योगी व्यवसायीहरुको संरक्षण र सम्बद्र्धन  गर्नु नै सबै जनप्रतिनिधिको साझा दायित्व भएको उल्लेख गर्दै उनले राज्यका सबै शक्ति एक भएर अर्थतन्त्र सुधारको पक्षमा लाग्नु पर्ने बताएका हुन्।  ‘मुलुकको आर्थिक समस्यालाइ सम्बोधन गर्दै नेपाली जनताले महशुस गर्न सक्ने गरी विकास गर्न सकियोस् भन्ने कुरामा सरकार संवेदनशील छ र निर्वाचित जनप्रतिनधिहरु पनि संवेदनशील बन्नुहुनेछ भन्ने विश्वास छ’, गृहमन्त्री खाँणले भने।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यस अघि बुटवलमा मेला महोत्सवका लागि स्थायी संरचना नहुँदा करोडौं रुपैया अस्थाइ संरचनामा खर्च हुने गरेको स्मरण गर्दै उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्दै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको पालामा नेपाली सेनाको नाममा रहेको बुटवल मण्डपको केही जग्गा प्रदर्शनी स्थल निर्माणका लागि प्राप्त भएको बताए। स्थायी प्रदर्शनी स्थल निर्माणकै चरणमा रहेको भन्दै उनले बाँकी निर्माणको काम समयमै सक्नु पर्नेमा जोड दिए।

आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले महोत्सवको उदेश्य बस्तु प्रदर्शन र व्यापार मात्रै नभइ औधोगिक व्यवसायिक क्षेत्रका समस्या उजागर गर्दै समाधानका उपाय खोजी गर्ने,नयाँ प्रविधि र लगानी प्रबद्र्धनका सम्भावनाहरुसंगै उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।  

समृद्ध नेपाल निर्माणको आधार,स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नारा सहित बिहिबार देखि सुरु भएको १५ औं राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव पुष १९ गतेसम्म चल्ने छ। प्रदर्शनी बुटवल उपमहानगर स्थित बुटवल मण्डपमा निर्माणाधिन अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा राखिएको छ। प्रदर्शनीमा खाद्यन्न,गार्मन्ट,सूचना,प्रविधि,हस्तकला,कृषि लगायतका ४५० स्टल छन्। महोत्सवको ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने अनुमान गरीएको संघका अध्यक्ष पौडेलले जानकारी दिए।  

प्रकाशित: ७ पुस २०७९ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App