काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कावा अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालयमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले शेरचनले पार्टीलाई सही नेतृत्व दिन नसकेका कारण उनलाई पदमुक्त गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए।
समान विचारधारा भएका राजनीतिक दल एवम् शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा उनले बाधा गरेको लावतीले आरोप लगाए।
उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले लामालाई नै पार्टी नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ। बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पुर्याउने तथा राष्ट्रवादी शक्तिको एकताका लागि प्रयत्नशील रहेका सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरेको छ। रासस
प्रकाशित: १६ असार २०७३ १३:११ बिहीबार