२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्टाटसबारे माफी माग्दै मेयर साम्पाङले भने: कसैलाई ठेस पुर्‍याउन नियतवश लेखेको थिइन

सामाजिक सञ्जालमा दलित समुदायको अपमान हुने गरि चमारे शब्द प्रयोग गरेकोप्रति धरानका मेयर हर्कराज राई (साम्पाङ)ले माफी मागेका छन्।

चौतर्फी आलोचना हुनुको साथै राष्ट्रिय दलित आयोगले कानुनी कारवाही गर्न गृहमन्त्रालयमा सिफारिशसमेत गरेपछि दबाबमा परेका मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन्। गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जादा दलित समुदायलाई नराम्रो लागेकोप्रति उनले दुःख व्यक्त गर्दै क्षमाप्रार्थी रहेको विज्ञप्तीमा उल्लेख गरेका छन्।

मेयर साम्पाङले आफू सधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनको लागि विकृति, विसंगति बेथिती, अन्याय, भ्रष्टचार, विदेभ, शोषण र दमनकाविरुद्ध अभियान चलाएको भन्दै कसैलाई ठेस पुर्याउने नियतवश उक्त स्टाटस पोष्ट नगरेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन्।  

मेयर साम्पाङले गएको मंगलबार फेसबुकमा ‘....बल होइन, बुद्धि लगा चमारे बुद्धि’ भन्ने स्टाटस पोष्ट गरेका थिए। उनको यो अभिव्यक्तिले दलित समुदायको अपमान गरेको भन्दै तीब्र आलोचना भएको थियो। दलित समुदायसँगै राष्ट्रिय दलित आयोगले पनि मेयर साम्पाङलाई अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न आग्रह गरेको थियो। मेयर साम्पाङले आफ्नो स्टाटस सम्पादन गर्दै चमारे शब्द सुटुक्क हटाए पनि सार्वजनिकरुपमा अभिव्यक्ति सच्याएको वा फिर्ता लिएर आत्मालोचना गरेको स्वीकार गरेनन्। उल्टै आफ्नो अभिव्यक्तिको वचाउमा निरन्तर पोष्ट गरेपछि दलित आयोगले मेयर साम्पाङलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।  

आत्मालोचना गर्नुको साटो दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरि आफुलाई संविधान र प्रचलित कानुनभन्दा माथि रहेको जस्तो गरि पुनः अभिव्यक्ति सार्वजनिक गरेकोले कानुनी कारवाहीको लागि सिफारिश गरिएको आयोगको भनाइ छ। आयोगले कारवाहीको लागि सिफारिश गरेपछि मेयर साम्पाङले आयोगविरुद्ध नै पनि फेसबुकमार्फत अभिव्यक्ति दिएका थिए।  

प्रकाशित: ३ पुस २०७९ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App