२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेका छौं: मुख्यमन्त्री शाही

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत।तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

‘सडक पूर्वाधार सबैभन्दा महत्वपूर्ण विषय हो, सडकसँगै सामाजिक र आर्थिक उन्नति र प्रगति हुन्छ,’ मुगुका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता कर्णाली र भेरी करिडोर निर्माणमा छ।’

दक्षिणको छिमेकी भारतसँग कर्णालीको सिमा जोडिएको छैन। उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर र भेरी करिडोर निर्माणका क्रममा छन्। दुबै करिडोरहरु नेपाली सेनाले निर्माण गरिररहेको छ। कर्णाली करिडोर सुर्खेत–दैलेख–कालिकोट हुँदै सुदूरपश्चिम प्रदेशको बाजुरा–हुम्ला हुँदै चीनसँगको सिमा हिल्सा पुग्छ। भेरी करिडोर सुर्खेत–जाजरकोट हुँदै डोल्पाको धो–मोरिम्ला पुग्छ।

मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षमा कर्णाली करिडोरलाई तीन अर्ब र भेरी करिडोरलाई दुई अर्ब रुपैयाँ छुट्याइने बताए। ‘प्रमुख सचिवलाई कर्णाली र भेरी करिडोरका लागि पाँच अर्बको फाइल तयार गर्न भनेको छु,’ मुख्यमन्त्री शाहीले भने, ‘दुबै करिडोर कर्णालीको विकास र समृद्धिका आधार हुन्, त्यसैले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

मुख्यमन्त्री शाहीले साविकको कर्णालीलाई विकास पूर्वाधार निर्माणमा छुट्टै नीतिको खाँचो आवश्यक रहेको बताए। ‘हुम्लामा अझै सडक पुगेको छैन्, डोल्पा र मुगुको अवस्था पनि उस्तै छ, भूगोलले पनि विकट छ,’ उनले भने, ‘सुर्खेतलाई हेरेर छुट्याइने बजेटले कर्णालीमा पूर्वाधार निर्माण गर्न समस्या भइरहेको छ, त्यसैले प्रदेश सरकारले दुर्गम क्षेत्र लक्षित गरेर नीति ल्याउने तयारी गरिरहेको छ।’ मुख्यमन्त्री शाहीले कर्णालीका हुम्ला, मुगु र डोल्पामा ढुवानीनै महंगो हुने भएकाले मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट साविकको तीन जिल्लामा बढी छुट्याइएको बताए।  

‘यहाँको भूगोलका बारेमा जानकारी भएरनै हुम्ला, मुगु र डोल्पाका वडाहरुमा २० लाख र अन्य जिल्लाका वडाहरुमा १५ लाखका दरले मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट छुट्याइएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अव अरु विकास–निर्माणका कार्यक्रमहरुमा पनि यही मोडल लागू गर्ने तयारीमा छौं।’ मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच समन्वय र सहकार्य विना जनतालाई विकासको अनुभूति दिन नसकिने भएकाले प्रदेश सरकारले विकास–निर्माणका काममा स्थानीय तहसँग समन्वय गर्दै आइरहेको बताए। ‘स्थानीय तह जनताको चुल्होको सरकार हो, विकास कार्यान्वयन गर्ने निकाय पनि हो,’ उनले भने, ‘देखिने प्रदेश सरकार र सुनिने संघीय सरकारले स्थानीय तहलाई विश्वासमा लिएर काम गर्नुपर्दछ।’

मुख्यमन्त्री शाहीले असारको अन्तिम समयमा भुक्तानी गर्ने परिपाटीले काम भएको बजेट पनि भुक्तानी नहुने समस्या भएको बताउँदै यसको आवश्यक छानविन गरिने बताए। ‘कतिपय ठाउँमा कर्मचारीको लापरवाहीका कारणले पनि भुक्तानीमा समस्या आएको गुनासो आएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘प्राविधिक कारणले भुक्तानीमा समस्या भएका ठाउँमा प्रदेश सरकारले भुक्तानीका लागि प्रक्रिया अघि बढाउँछ, कर्मचारीका कारणले भएको हो भने सम्वन्धीत कर्मचारीबाट तिराउने व्यवस्था गछौं।’

कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले दशैंपछि आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको, बाढीपहिरो पीडितहरु जाडोमा पनि पालमुनि बस्नुपर्ने बाध्यता रहेको, रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले सडकको स्तरोन्नति नहुँदा दुःख पाउने गरेकोलगायतका गुनासाहरु राखेका थिए।

 

 

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत।  

 

 

 

प्रकाशित: १ पुस २०७९ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App