४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उदयपुरबाट ४ महिला प्रदेश समानुपातिकमा, संघतर्फ रित्तो

क्याप्सनः उदयपुरबाट समानुपातिक छानिएका नेतृहरू। तस्विरः महेश्वर

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको छ। 

गत ०७४ को चुनावमा प्रतिनिधिसभातर्फ २ र प्रदेशतर्फ ४ सांसद पाएको उदयपुर यस पटक भने प्रतिनिधिसभातर्फ रित्तो हुन पुग्यो।

यस पटक नेकपा (एमाले) बाट २, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन्। सबभन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ। काँग्रेसबाट लिला देवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन्।

प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मतमध्ये सबभन्दा बढी ६ लाख ६५ ह जार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ। दोस्रो ठुलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको काँग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ।

१ लाख ९२ हजार ५ सय ११ मत पाएर तेस्रो स्थान ओगटे पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन। जसपा, लोसालगायत विभिन्न ३६ दलले भाग लिए पनि यो चुनावमा समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे।

०७४ को चुनावमा उदयपुरले प्रदेशसभातर्फ ३ र प्रतिनिधिसभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो। एमालेले भवानी थापा र सुनिता चौधरीलाई तथा काँग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए। प्रतिनिधिसभातर्फ काँग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए।

यस पटक प्रदेशतर्फ माओवादीले ‘डेब्यु’ गरेको छ। यसअघिका चुनावमा प्रदेशमा काँग्रेस र एमालेबाट दोहोर्‍याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन। ०६४ को चुनावमा भने प्रत्यक्षतर्फ २ सीट जितेको माओवादीले भेषकुमारी राउत (कोपिला) लाई प्रतिनिधिसभातर्फ समानुपातिकमा सांसद बनाएको थियो। ०६४ चुनावमा एमालेबाट दुर्गा परियार र काँग्रेसबाट लक्ष्मी परियार संघतर्फ समानुपातिक सांसद भएका थिए।

प्रकाशित: २५ मंसिर २०७९ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App