coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादीलाई बाजुरामा साख बचाउनै सकस

बृहत शान्ति सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादीले देश व्यापी आफ्नो आकार घटाउँदै आएको छ। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा १२० सिट जितेर देशकै ठूलो पार्टी बनेको माओवादीले २०७९ मा १८ सिट प्रत्यक्षमा चित्त बुझाउन बाध्य भयो।  

माओवादीले जितेको १८ सिट पनि नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलहरुको बैशाखीमा पाएको प्रष्टै छ। देशव्यापी ओरालो यात्रामा लागेको नेकपा माओवादी केन्द्रको प्रत्यक्ष बाजुुरामा पनि देखिएको छ। हालसम्म बाजुरामा माओवादीले कुनै चुनाव पनि जितेको छैन। तर समानुपातिक तर्फको मत संख्या राम्रो ल्याउने गरेको थियो।

२०६४ सालमा माओवादीका तर्फबाट मिनबहादुर विष्ट उम्मेदवार बनेका थिए। माओवादीको देशव्यापी मावल थियो, त्यो बेला १२ हजार बढी मत ल्याएका थिए। त्यो बेला काँग्रेसका देवराज जोशीले चुनाव जितेका थिए। नेकपा एमाले दोस्रो दल बनेको थियो।  

माओवादीले त्यो चुनावमा प्राप्त गरेको मत २०७० को दोस्रो संविधान सभा चुनावसम्म आइपुग्दा घटेर साढे ५ हजारमा झरेको थियो। चुनाव नेकपा एमालेका कर्णबहादुर थापाले जितेका थिए। भने काँग्रेस दोस्रो दल बनेको थियो। तत्कालिन माओवादीका नेता सहदेव बोगटी उम्मेदवार थिए। माओवादीले समानुपातिक र प्रत्यक्षमा बराबरी मत ल्याएको थियो।

२०७४ सालको चुनावमा माओवादी र एमाले बीचको वाम गठबन्धन हुँदा माओवादीको तर्फबाट उम्मेदवार नै उठेनन्। स्थानीय तह चुनावमा पनि ४ वटा वडा बाहेक कुनै पालिकामा माओवादीले जित्न सकेन। तर पनि २०७४ सम्म आइपुग्दा समानुपातिक मत करिब ५ हजारको हाराहारीमा कायमै थियो।  

२०७९ को स्थानीय तह चुनावमा कुनै पालिका एमाले र कुनैमा काँग्रेस त कुनैमा समाजवादीसँग मिलेर चार वटा वडामा जित हात पारे पनि कुनै पालिकामा जित निकाल्न सकेन र वडाको मत संख्या ५ हजारबाट घटेर ४ हजार ९ सयमा झरेको थियो। यो पटकको संघ र प्रदेशको दुवै चुनावमा निकै कमजोर भयो।

प्रतिनिधी सभामा माओवादीले २ हजार मत समेत कटाउन सकेको छैन। देश व्यापी गठबन्धन भएपनि नेपाली काँग्रेसले बाजुरामा माओवादीलाई सहकार्य बाहिर राख्यो। समाजवादीलाई साथ दिएर माओवादीलाई एक्लो बनायो, तरपनि प्रतिनिधी सभा र प्रदेश सभा (ख) मा माओवादीले काँग्रेसका उम्मेदवारलाई मतदान गर्‍यो।  

माओवादीबाट प्रदेश सभा (क) मा कर्णबहादुर विकले उम्मेदवारी दिएर चुनाव लडेपनि १ हजार मत कटाउन सकेनन्। कुल सदर मत २० हजार ७ सय ३ मध्ये विकले १ हजार ९८ मत मात्र ल्याएका छन्। बाजुरामा माओवादीका उम्मेदवारको धरौटी समेत जफत भएको छ।  

समानुपातिकतर्फ यो चुनावमा माओवादीलाई झनै नोक्सानी बेहोर्नु परेको छ। समानुपातिकतर्फ संघ र प्रदेश दुवैमा नेपाली काँग्रेस पहिलो दल बनेको छ। भने नेकपा एमाले दोस्रो दल बन्यो। दुवै दलले आफ्नो मत सुरक्षित राखेको अवस्था छ। तर नेकपा माओवादी आकारमा निकै घटेको स्थिति छ।

कुल खसेको ६० हजार ४ सय ४५ मत मध्ये सदर मत ५८ हजार ६ सय १० मत मध्ये नेपाली काँग्रेसले २७ हजार ९ सय ७२ मत प्राप्त गरेको छ। भने दोस्रो बनेको नेकपा एमालले २६ हजार २ सय ९९ मत प्राप्त गरिरहँदा माओवादी केन्द्रले १ हजार ९ सय ७८ मत मात्रै प्राप्त गरेको छ।

माओवादीले स्थानीय तहमा वडागत मतको संख्या जति पनि समानुपातिक मत प्राप्त गर्न सकेन। नेकपा माओवादी केन्द्रले प्रदेश सभाको समानुपातिक तर्फ भने २ हजार ५ सय २८ मत प्राप्त गरेको छ। प्रदेश सभामा प्रतिनिधी सभाको भन्दा ५ सय ५० मत बढी ल्याएको छ।  

माओवादी बाजुरामा लगातार आरोलो गतिमा लागेको छ। संगठन अस्तव्यस्त अवस्थामा छ। नेता, नेतृत्व र जिल्ला समन्वय कमिटीको बेहाल देखिन्छ। भएका नेताहरु तीनतिर छन्। आफू अनुकुलको निर्णय र विचारमा चल्ने गर्दा माओवादीको संगठन नै अर्को चुनावसम्म आइपुग्दा नरहने अवस्था छ।  

आफ्नो उम्मेदवार मैदानमा हुँदा समेत माओवादीको आधा बढी नेतृत्व पंक्ति अर्को दललाई सघाउने अवस्थामा पुग्नु पार्टी संगठनका लागि दुखत विषय हो। कति चुनाव अरुकैलाई जिताउन लाग्दा संगठन कमजोर भयो, उम्मेदवार पाउँदा पनि साथ दिन पार्टी नेताहरु नै तयार देखिएनन्, यही समस्याले माओवादी कमजोर भएको श्रोतको दाबी छ।  

माओवादी नेताहरु नै बिकाउ बनेको आरोप छ। एमाले र काँग्रेस जस्ले पनि प्रयोग र परिचालन गर्न सक्ने अवस्थामा नेताहरु पुगेपछि संगठन शसक्त हुने र संख्या थपिने कुरै भएन, इमान्दार बाहेक सबैले पार्टी छोड्ने र संरक्षण खोज्ने अवस्था आइसकेको आक्रोश माओवादी पार्टी भित्रै उठ्न थालेको छ।  

जनयुद्धकालिन अवस्थामा राम्रो प्रभाव क्षेत्र मानिने बाजुरा माओवादीको बिउ समेत नरहने अवस्थामा पुगेको देखिन्छ। ६० हजार मत खस्दा २ हजार मत कटाउने अवस्था रहने भने संगठन भएको र नभएकोमा कुनै फरक नहुने तर्फ माओवादी नेताहरुकै छ। वाम एकता नभए यही संख्या पनि नरहने चिन्ता माओवादी भित्रै देखिन थालेको छ।  

नेताहरु आफूहरुको कमजोरी स्वीकार गर्ने पक्षमा छैनन्। तर कार्यकर्ता इमान्दार भएपनि नेतृत्व लिने समूह नै बिक्न थालेपछि समस्या माओवादी बाजुराको संगठन भित्र देखिएको छ।  

चुनाव अवधी भर माओवादीका पकड क्षेत्रमै एमाले काँग्रेसले ठूलो लगानी लगाएको आरोप लाग्ने गरेको छ। माओवादीले नयाँ रणनीति र योजना सहीतको शसक्त संगठन नबनाए अर्को चुनावसम्म केही नेता बाँकी रहेपनि भएका संगठन र मतदाता साथमा नहरने पक्का जस्तै छ।

प्रकाशित: २५ मंसिर २०७९ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App