७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छः गृहमन्त्री खाँण

फाइल तस्बिर।

गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन्।

बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्। उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए।

उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए। गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे।

उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो। निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो। यो निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन आयोग र मतदानमा खटिनुभएका मान्य न्यायाधिशज्युहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवक कर्मचारीहरु, नेपाली मतदाताहरुको अपूर्व योगदानका कारण नै मतदान सम्पन्न भएको छ। यो निर्वाचनले संविधानलाई बल पुर्‍याएको छ। यो राष्ट्रिय दायित्व सरकारले पूरा गरेको छ। 

यस क्रममा सुरक्षा निकायका केही अधिकृत जवानहरु पनि दिवंगत हुनुभएको छ। नागरिकको पनि बलिदान भएको छ। उहाँहरुको परिवारका लागि भरणपोषणका लागि सरकारले राहत पनि उपलब्ध गराउने छ।

निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गरिनेछ र कर्मी कजोरीलाई सुधार्दै जानेछ। सिमित श्रोत र साधनका बाबजुद पनि निर्वाचन सम्पन्न गर्ने काममा उहाँहरु अहोरात्र खटिनुभएको छ। निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ। राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामुहिक प्रयत्न गर्नेछ। शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ।’ खाँणले भने। 

गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे। उनले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए।

प्रकाशित: १५ मंसिर २०७९ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App