१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको पहल भइरहेको छ। बाजुरामा बुधबारको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले बिहीबार बिहान फेरि बैठक बोलाइएको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनअन्तर्गत बुधबारसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेस सबैभन्दा धेरै ५४ स्थानको नतिजा आफ्नो पक्षमा पार्दै पहिलो दल बन्न पुगेको छ। प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पनि कांग्रेस ठुलो दल बन्न पुगेको छ। सातै प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म ३ सय २४ स्थानको मतगणना सकिएको छ। जसमा कांग्रेसले सबैभन्दा धेरै १ सय ५ क्षेत्रमा जितेको छ।

घोषित परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एमाले दोस्रो स्थानमा छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले भन्दा एक लाख बढी मत ल्याएको एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ। उसले प्रदेशसभा प्रत्यक्षतर्फ ९० क्षेत्रमा जित निकालेको छ।

माओवादी केन्द्र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैमा तेस्रो स्थानमा छ। उसले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ५३ सिट जितेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने माओवादी केन्द्रलाई पछ्याउँदै चौथो स्थानमा छ। उसले प्रदेशसभा सदस्य निर्वाचनमा भने उम्मेदवारी दिएको थिएन।

त्यस्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ १४ स्थानमा जित निकालेको छ। उसले प्रतिनिधिसभा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउँछ या ल्याउँदैन अझै निश्चित भएको छैन। जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभाका सातसात क्षेत्रमा जित निकालेका छन्। राप्रपाले प्रदेशसभा सदस्यतर्फ ११ क्षेत्र जितेको छ। प्रतिनिधिसभा समानुपातिक मतमा भने राप्रपा पाँचौं स्थानमा छ। जसपाले प्रत्यक्ष निर्वाचनमा प्रदेशसभातर्फ १० सिट जितेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ भने जसपा छैटौं स्थानमा छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्ष अन्तर्गत प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ९ सिट जितेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ लोसपा अहिलेसम्म दसौं स्थानमा छ।

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभामा ५ सिट जितेको छ। ऊ प्रतिनिधिसभा समानुपातिक मतमा नवौं स्थानमा छ। प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभातर्फ एक स्थानमा जितेको जनमत पार्टीले प्रदेशसभामा ७ सिट सुरक्षित गरेको छ। उसले राष्ट्रिय मान्यता प्राप्त गर्न समानुपातिकतर्फ पनि आवश्यक मत पाउने देखिन्छ। प्रतिनिधिसभा समानुपातिकतर्फ जनमत पार्टी अहिले सातौं स्थानमा छ।

प्रत्यक्ष निर्वाचनअन्तर्गत राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा १/१ सिट जितेका छन्। नेपाल प्रतिनिधिसभा समानुपातिक मतमा मजदुर किसान पार्टी एघारौं र राष्ट्रिय जनमोर्चा १३औं स्थानमा छन्। स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा पाँच र प्रदेशसभा सदस्यमा १२ जना निर्वाचित भएका छन्।

देउवाले बनाए रेकर्ड

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा यो निर्वाचनबाट नयाँ रेकड बनेको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका सबै संसदीय/संविधानसभा सदस्य निर्वाचनमा लगातर जित निकाल्ने देउवामात्र एक्ला नेता बनेका छन्। २०४८ देखि निरन्तर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेता १८ जनाजति भए पनि निरन्तर जनताबाट अनुमोदित हुनेमा देउवा मात्र एक्ला नेता हुन्।

कांग्रेसका विजयकुमार गच्छदार, नेकपा एसका विरोध खतिवडा, जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले निरन्तर चुनाव जित्दै आएका थिए। तर यो निर्वाचनमा जितलाई निरन्तरता दिन उनीहरू असफल भए।

चर्चा पाएका उम्मेदवार

डडेल्धुरामा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका सागर ढकालले निकै चर्चा कमाए। देउवा २५ हजार ५ सय ३४ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी ढकालले १३ हजार ४२ मत पाए।

निर्वाचन आयोगले ललितपुर ३ बाट मनोनयन दर्ता गराएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा गइन्। सर्वोच्चले उनको उम्मेदवारी कायम गरिदियो। त्यसपछि कार्की चर्चाको शिखरमा पुगिन्।

जसले प्रभावशालीलाई पछि पारे

प्रमुख दलका प्रभावशाली नेतालाई पछि पार्दै केही उम्मेदवारले निर्वाचन परिणाम पक्षमा पारेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पराजित गरे। तनहुँ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी पौडेललाई काठमाडौं ५ बाट उम्मेदवार बनाइएको थियो। सुरुमा पर्यटक उम्मेदवारको आरोप लागे पनि उनैले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो यात्रा सुनिश्चित गरे।

दाङ २ मा एमालेकै महासचिव शंखर पोखरेललाई पराजित गर्दै माओवादी नेत्री रेखा शर्मा यो निर्वाचनमा चर्चामा रहिन्। पूर्वसभामुख एवं माओवादी नेत्री ओनसरी घर्तीलाई काठमाडौं २ मा पछि पार्दै पूर्वसञ्चारकर्मी सोविता गौतम चुनाव जित्न सफल भइन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम १ मा पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित भए। स्थानीय तह निर्वाचनमा हेडौंडा उपमहानगरमा पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहले पार्टीका पूर्वअध्यक्ष (राप्रपा छाडेका) कमल थापा र कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई पराजित गरे। पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाहीबाट विजयी भए।  

प्रकाशित: १५ मंसिर २०७९ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App