१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन

आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन। सातादिनदेखि जारी मतगगणना प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएपछि स्थगित भएको थियो।  

बिहान खोलिएका १० वटा प्रतिनिधिसभाको मतपेटिकामा १ सय हाराहारी मतपत प्रदेशसभाको भेटिएको थियो। त्यस्तो समस्या पाइएपछि गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निश्कर्ष निस्कन बाँकी रहेको छ।  

अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए। उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा ढ्वाङमा ती मतपत्र भेटिएको अपुष्ट जानकारी दिए।  

‘अहिले हामी त्यै विषयमा बैठकमै व्यस्त छौँ’ कोइरालाले भने ‘देउरी र श्रीपुरक्षेत्रका केन्द्रको ढवाङ् खोल्दा भेटिएको भन्ने छ, तर पुष्टि भइसकेको छैन। गणना चाँडो सुचारु गर्ने उदेश्य छलफलमा केन्द्रित भएकाले त्यतातिर ध्यान दिन पाएका छैनौँ।’  

१ लाख ३५ हजार बढी मतदाता रहेको १ नं. मा ७६ हजार ७ ५६ मत खसेकोमध्ये ६७ हजार ८२ मत गणना भइसकेको छ। बिहान ६ः५० सम्मको यो परिणाम अनुसार नेपाली कांग्रेसका डा. नारायण खड्काले २७ हजार ४ सय ८४ र नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत पाइरहेकी छिन्।  

गणनाको सुरुवातदेखि अग्रता लिदै आएका गठबन्धनका उम्मेदवार खड्काले सो परिणामसम्म आइपुग्दा ८ सय २५ को मतान्तर कायम राखेका छन्।  

प्रदेशसभा १ क) र ख) दुवैको परिणाम अघिल्लो दिन नै आइसकेको अवस्थामा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मत भेटिनुले समस्या आउने संकेत देखिएको छ। यद्यपी आधिकारिक परिणाम घोषणा गर्न भने आयोगले बाँकी राखेकाले त्यत्ति ठूलो समस्या नआउने निर्वाचन कार्यालयले जनाएको छ।  

कार्यालयका अनुसार गणनाको अन्तिम परिणाम सुनाइए पनि विजयी घोषणा गर्न बाँकी रहेको छ। उता ५ दिनअघि नै परिणाम आइसकेको २ नं. निर्वाचन क्षेत्रकोसमेत प्रतिनिधि र प्रदेशसभा दुवैको घोषणा अहिलेसम्म गरिएको छैन। १ नं. क्षेत्रको पनि गणना सकिएपछि मात्र एकैचोटी घोषणा गर्ने तालिका रहेको कार्यालयले जनाएको छ।    

प्रकाशित: ११ मंसिर २०७९ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App