१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री र निवर्तमान सांसद नै पराजित

प्रतिनिधिसभाको चुनावको प्रारम्भिक परिणामले पुराना सांसद हराएर नयाँ उम्मेदवारलाई अगाडि ल्याएको छ। चुनाव घोषणा सँगसँगै उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका युवा पुस्तालाई जनताले छनोट गरेका हुन्। बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।

काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले हारेकी छिन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीय सोविता गौतमले चुनाव जितिन्।

काठमाडौं ३ बाट नेकपा एमालेका पूर्वसांसद कृष्ण राईले चुनाव हारे। त्यस क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले चुनाव जिते। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री ईश्वर पोखरेलले काठमाडौं ५ मा चुनाव हारे। उनले नेपाली कांग्रेसका प्रदीप पौडेलसँग चुनाव हारेका हुन्।

त्यसैगरी, काठमाडौं ६ बाट यसअघि चुनाव जितेका भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग हार्नुपर्‍यो। पूर्वसांसद प्रधान तेस्रो स्थानमा आएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका पूर्वसांसद रामवीर मानन्धरले चुनाव हारे। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पूर्वराज्यमन्त्री मानन्धरलाई चुनावमा हराउन सफल भए। त्यसै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार पूर्वसांसद राजेन्द्र श्रेष्ठले पनि हारे।

त्यसैगरी, काठमाडौं ८ मा नेकपा एकीकृत समाजवादीका पूर्वसांसद एवं बहालवाला मन्त्री जीवनराम श्रेष्ठले हार्नुपरेको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग हार्नु परेको हो।

नेकपा माओवादी केन्द्रकी पूर्वसांसद अञ्जना विशंखेले काठमाडौं १० मा चुनाव हारिन्। उनी नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीसँग प्रतिस्पर्धामा हारेकी हुन्। देशैभरि गठबन्धन गरेको कांग्रेस माओवादीले काठमाडौंको यस क्षेत्रमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए। बहालवाला मन्त्री एवं माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल ललितपुर ३ बाट चुनाव हारेकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग चुनाव हारिन्। उनी त्यस क्षेत्रबाट मतको क्रममा तेस्रो स्थानमा रहिन्।

ललितपुर १ मा एमालेका पूर्वसांसद नवराज सिलवालले पनि हार व्यवहोरे। त्यस क्षेत्रका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता उदय समशेर राणाले चुनाव जितेपछि सिलवाल दोस्रो स्थानमा आए। ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एसका नेता कृष्णलाल महर्जनले चुनाव हारे। त्यस क्षेत्रमा नेकपा एमालेका प्रेमलाल महर्जनले जितेका छन्।

ओखलढुंगाबाट नेकपा एमालेका पूर्वसांसद यज्ञराज सुनुवारले चुनाव हारे। त्यस ठाउँबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनाव जितेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी २ बाट नेकपा एसकी पूर्व मन्त्री रामकुमारी झाँक्रीले चुनाव हारेकी छिन्। उनले नेकपा एमालेका गोकर्ण विष्टसँग चुनाव हारेकी हुन्। झाँक्री गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन्।

राष्ट्रिय जनमोर्चाकी पूर्व सांसद दुर्गा पौडेल प्यूठानबाट चुनाव हार्ने निश्चित भएको छ। उनले नेकपा एमालेका सूर्य थापासँग चुनाव हार्नुपरेको छ।

अर्घाखाँचीबाट नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपसभामुख पुष्पा भुसालले चुनाव हारेकी छिन्। उनले नेकपा एमालेका टोपबहादुर रायमाझीसँगको प्रतिस्पर्धामा पराजय भोगेकी हुन्।

मधेस प्रदेशअन्तर्गत सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेका छन्। उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग चुनावी प्रतिस्पर्धामा थिए। राउतले चुनाव जितेपछि यादवले हार व्यहोरेका हुन्।

त्यसैगरी सर्लाही क्षेत्र नम्बर २ बाट पूर्वसांसद राजेन्द्र महतोले चुनाव हारेका छन्। त्यस क्षेत्रमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका महेन्द्र यादवले चुनाव जितेका छन्। बाँके क्षेत्र नम्बर २ बाट पूर्व सांसद इस्तियाक राईले चुनाव हारे। राई राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल समशेर राणासँग चुनाव हारेका हुन्।

बागलुङको क्षेत्र नम्बर १ मा एमालेका पूर्वसांसद सूर्यप्रसाद पाठकले हार व्यहोर्नु परेको छ। उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जितेपछि पछाडि परेका हुन्। चितवन १ बाट एमालेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चुनाव हारेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चुनाव जितेपछि पाण्डेले हार व्यहोरेकी हुन्।

चितवनको क्षेत्र नम्बर २ बाट बहालवाला राज्यमन्त्री उमेश श्रेष्ठले चुनाव हार्ने पक्का जस्तै छ। उनीसँगै एमालेका पूर्वसांसद कृष्णभक्त पोखरेलले पनि चुनाव हार्ने भएका छन्। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जितेको संघारमा छन्।

मनाङबाट एमाले पूर्व सांसद पोल्देन छोतङ गुरुङले पनि चुनाव हारेका छन्। एकमात्रै क्षेत्र रहेको मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले चुनाव जिते।

त्यसैगरी पर्सा १ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता पूर्व सांसद लक्ष्मणलाल कर्णले चुनाव हारेका छन्। त्यस क्षेत्रबाट जसपाका प्रदीप यादवले चुनाव जितेका हुन्। अछाममा एमालेका पूर्वसांसद यज्ञबहादुर बोगटीले चुनाव हारेका छन्। त्यस क्षेत्रबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पुष्पबहादुर शाहले चुनाव जितेका हुन्। जारी मतगणनामा दुई दर्जन बढी निर्वतमान सांसदहरू पनि चुनावी प्रतिस्पर्धामा पछि परेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App