दुई स्वतन्त्र उम्मेदवारको टक्कर रहेको रौतहटको क्षेत्र नम्बर ३ मा प्रभु साहले फराकिलो अग्रता कायम गरेका छन्। साहले निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश साहलाई तीन हजारभन्दा बढी मतले पछाडि पारेका छन्।
प्राप्त पछिल्लो परिणामअनुसार प्रभु साहले ७ हजार ५२८ मत ल्याएका छन् भने ओमप्रकाश साहले ४ हजार ३८७ मत ल्याएका छन्। यसै गरी नेकपा माओवादी केन्द्रका धीरज पटेलले २ हजार ६६४ मत ल्याएका छन्।
रौतहट क्षेत्र नम्बर ३ मा निकै कडा टक्कर मानिएको छ। नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एस, जसपा र लोसपासमेतको साथ पाएका नेपाली काँग्रेसका बागी उम्मेदवार उद्योगपति ओमप्रकाश साहले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई निकै कडा टक्कर दिने अनुमान गरिएको अवस्थामा प्रभु साहले निरन्तर अग्रता कायम राखेका छन्।
अझै पनि धेरै वडाको मतगणना गर्न बाँकी रहेकोले रौतहट क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा निकै रोचक बन्न पुगेको छ।
प्रकाशित: ६ मंसिर २०७९ १२:२५ मंगलबार