२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोरङमा प्रमुख दलकै वर्चस्व

विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना हुँदै। तस्बिर: चुमन बस्नेत/नागरिक

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ पार्टीले ल्याएको मत परिणामले तरंग ल्याइरहँदा मोरङमा भने मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै उम्मेदवार बीच प्रतिस्पर्धा देखिएको छ। मोरङको प्रारम्भिक मत परिणामले विगतका निर्वाचनमा जस्तै मुख्य राजनीतिक दलका उम्मेदवार बीच नै प्रतिस्पर्धा हुने देखिएका कारण खासै फरक नतिजा आउने अवस्था देखिएको छैन।

त्यसो मा निर्वाचनका बेला विभिन्न खाले ह्विम आउने पुरानै प्रवृत्ति छ। तर, त्यस्ता ह्विमले मुख्य राजनीतिक दललाई खासै प्रभावित पारेको भने देखिएको छैन। २०७४ को निर्वाचनमा एक भोट गाईलाई एक भोट दाइलाई भन्ने ह्विम मतदातामा चलेको थियो। तर, सो अनुसार राप्रपा नेपालको खासै धेरै मत भने आएको देखिएन। यस्तै, यो निर्वाचनमा पनि ‘घण्टी बजाऊँ’ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल देखिएको थियो।

यो माहोलले मोरङमा भने खासै प्रभाव पार्न सक्ने अवस्था प्रारम्भिक मत परिणाममा देखिएको छैन। मोरङका ४ वटा क्षेत्रमा मत गणनाको प्रारम्भिक नतिजा आइरहेको छ। क्षेत्र नम्बर ५ मा मात्रै स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन्। उनी पनि एमालेका बागी उम्मेदवार हुन्। मोरङ ५ मा प्रतिनिधि सभातर्फ स्वतन्त्रबाट उम्मेदवारी दिएका एमालेका नेता योगेन्द्र मण्डलले अग्रता लिइरहँदा सत्तारुढ गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले पछ्याइरहेका छन्। यद्यपि योगेन्द्र मण्डलको अग्रता निकै फराकिलो देखिएको छ।

जीवन विकास समाज लघुवित्त सञ्चालन गरी लामो समयदेखि यही क्षेत्रमा सामाजिक काम समेत गर्दै आएका मण्डल नेकपा एमालेका लोकप्रिय नेताका रूपमा परिचित छन्। उनको यही लोकप्रियताले उनलाई प्रतिनिधिसभाको निर्वाचनमा अग्रता कायम गर्न सघाइरहेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ। यस क्षेत्रमा एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादव तेस्रो स्थानमा देखिएका छन्।

अघिल्लो २०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता अमृत अर्याललाई पराजित गरेका थिए। राजकुमार यादव २०७४ सालको निर्वाचनमा तेस्रो स्थनमा थिए। मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रारम्भिक अग्रता कायम गरेका छन्। कांग्रेस १४औं अधिवेशनमा सभापतिका उम्मेदवार बनेर राजनीतिक उचाइ प्राप्त गरेसँगै उनको लोकप्रियता मोरङमा बढेको छ। कांग्रेसको भावी सभापति र प्रधानमन्त्री समेत बन्न सक्ने आकलन मतदाताहरूले गरेका कारण उनलाई अग्रता कायम गर्न सहज भएको देखिन्छ।

यति मात्रै हैन २०७४ को निर्वाचनमा वामपन्थी दलहरू एकजुट भएको र कांग्रेसकै एउटा वृत्तले असहयोग गरेका कारण उनी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग झिनो मत अन्तरले पराजित भएका थिए। यो निर्वाचनमा डा. शेखर कोइरालाले पार्टीको आन्तरिक रूपमा असन्तुष्ट नेताहरूलाई पनि मिलाउने प्रयास गरेका छन्। उनलाई कांग्रेसबाहेक सत्तारुढ गठबन्धनका अन्य दलहरूको पनि साथ मिलेको छ। अघिल्लो निर्वाचनमा विजयी भएका लालबाबु पण्डितको लोकप्रियता विगतको तुलनामा कमजोर भएका कारण पनि कोइरालाले यो निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउने आकलन भइरहेको छ।

मोरङ क्षेत्रनम्बर ३ मा मत गणना भइरहेको छ। उक्त क्षेत्रमा समानुपातिकतर्फको मत गणना भइरहेको छ। समानुपातिकतर्फको मत गणनामा कांग्रेसले नै प्रारम्भीक अग्रता कायम गरिरहेको छ। यस क्षेत्रमा कांग्रेस र एमालेबाट पुरानै प्रतिस्पर्धीहरू निर्वाचनमा उत्रिएका छन्।

सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार शुनिल शर्मा छन् भने नेकपा एमालेका तर्फबाट भानुभक्त ढकाल उम्मेदवार छन्। यस क्षेत्रबाट नयाँ उम्मेदवारको रूपमा राप्रपा नेपालकी रेखा थापा पनि छिन्। मुख्य दलहरू कांग्रेस र एमालेका उम्मेदवारलाई टक्कर दिने आकलन भइरहे पनि जित भने कांग्रेस र एमालेमध्येकै उम्मेदवारको हुने स्थानीयको आकलन छ।

मोरङ ४ मा नेकपा एमालेका उम्मेदवार विनोद ढकाल र सत्तारुढ गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी बीचमा प्रतिस्पर्धा हुने प्रारम्भीक नजिताले देखाएको छ। प्रारम्भीक मतगणनामा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता कायम गरिरहेका छन्। मोदी २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। थारू बहुल क्षेत्र भएकाले थारू उम्मेदवारलाई जातीय सेन्टिमेन्ट जाने भएकाले उनले यो निर्वाचनमा पनि जित हासिल गर्ने आकलन हुने गरेको छ। यद्यपि थारु समुदायको मत छरिएको खण्डमा भने नेकपा एमालेका उम्मेदवा। विनोद ढकालले जित्ने आकलन गरिंदै आएको छ।

प्रारम्भिक मत गणनामा मोदीको मतान्तर फराकिलो देखिएकाले उनले जित्न सक्ने सम्भावना बढेको छ। मोरङको क्षेत्र नम्बर २ मा मत गणना थाल्ने तयारी भइरहेको छ। यो क्षेत्रमा पनि कांग्रेस र एमालेकै उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेतृ सुजाता कोइराला र नेकपा एमालेबाट ऋषिकेश पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा र सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु छन्। २०७४ को निर्वाचनमा कांग्रेसका लिम्बुलाई पराजित गर्दै एमालेका खतिवडा निर्वाचित भएका थिए। यो निर्वाचनमा भने कांग्रेसका लिम्बुलाई नेकपा माओवादी केन्द्र र नेकपा एसको पनि साथ रहेका कारण उनले बाजी मार्ने आकलन गरिएको छ।

यस्तै प्रदेशसभामा पनि नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसकै उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रत्यक्षतर्फ नयाँ उदाएका दलहरूका उम्मेदवारको अवस्था कमजोर देखिएको छ। एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादीलाई भने यो निर्वाचनमा एमालेबाट धोका भएको छ। मोरङमा जसपाले पाएको स्थानमा एमालेले कतै बागी र कतै आधिकारिक उम्मेदवार उठाएको छ। जसपालाई विगतमा जस्तो मधेसको सेन्टिमेन्ट पनि यो निर्वाचनमा देखिएको छैन। यही कारण जसपाका उम्मेदवारलाई मोरङमा निर्वाचन जित्न चुनौती देखिएको छ। यद्यपि यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नको चर्चा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा भन्दा समानुपातिमा धेरै मत बटुल्ने आकलन गरिएको छ। यस्तै राप्रपा नेपालको पनि मोरङमा समानुपातिकतर्फ उल्लेख्य मत ल्याउने आकलन छ।

प्रकाशित: ६ मंसिर २०७९ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App