२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागलुङमा शान्तिपूर्ण मतदान

बागलुङको कालिका कन्यामन्दिर मावि मतदान केन्द्रमा मतदानका लागि लाईनमा बसेका मतदाता । तस्विरः संगम/नागरिक ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन—२०७९ अन्तर्गत बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। बागलुङका १ सय ६ वटै निर्वाचन स्थलका २३१ वटा केन्द्रमा शान्तिपूर्वक मतदान प्रक्रिया सुरु भएको बागलुङका मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए।

‘बागलुङका सबै निर्वाचन स्थलको सबै निर्वाचन केन्द्रमा मतदान सुरु भएको छ,’ उनले भने,‘ बिहान ९ बजेसम्म एक सयदेखि दुई सयसम्म सबै केन्द्रमा मत खसेका छन्।’ दुई प्रतिनिधिसभा र चारप्रदेश सभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९२ हजार २२७ जना मतदाता रहेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गरी बागलुङका सबै क्षेत्रमा ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।  

बागलुङ क्षेत्र नम्बर १ बाट पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेबाट डा. सूर्य पाठक उम्मेदवार छन्। यसका अतिरिक्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटा, नेपाली काँग्रेस वीपीबाट शिवलाल सापकोटा र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्री पनि चुनावी मैदानमा रहेका छन्। यो क्षेत्रमा ९६ हजार ६ सय ६६ मतदाता रहेका छन्। क्षेत्र नम्बर १ को प्रदेशसभा क मा ५० हजार ५ सय ८० मतदाता रहेका छन्। यहाँ गठबन्धनबाट काँग्रेसका पूर्व जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र एमालेका तर्फबाट जिल्ला अध्यक्ष हिराबहादुर खत्री उम्मेदवार छन्।  

उनीहरुसंगै राप्रपा नेपालका डिल्लीप्रसाद आचार्य, समाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि चुनावी प्रतिस्पर्धामा उत्रिभएका छन्। क्षेत्र नम्बर १ प्रदेशसभा ख मा गठबन्धनबाट काँग्रेस युवा नेता डिल्लीराम सुवेदी र एमालेका नवराज पौडेल मुख्य प्रतिस्र्धी रहेको ठानिएको छ। उनीहरुसंगै राप्रपा नेपालका गोविन्द सापकोटा र मंगोल नेश्नल अर्गनाईजेसनका सहवीर थापा उम्मेदवार छन्। यहाँ ४६ हजार ८६ मतदाता रहेका छन्। ९५ हजा पाँच सय ६१ मतदाता रहेको बागलुङ क्षेत्र नम्बर २ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं माओवादी केन्द्रका सचिव देबेन्द्र पौडेल गठबन्धन र मञ्जु शर्मा चालिसे एमालेको तर्फबाट उम्मेदवार बनेका छन्।  

उनीहरुसंगको प्रतिस्पर्धामा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, दलित पार्टीका टेकप्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र उम्मेदवार तुलसीराम अर्याल र डिलबहादुर कार्की उम्मेदवार छन्। कार्कीले केही दिन अघि मात्रै आफ्नो उम्मेदवारी मिड प्याक गरेका छन्। क्षेत्र नम्बर २ को प्रदेश सभा क मा दुई जना मात्रै प्रतिस्पर्धी छन्।  

गठबन्धनको तर्फबाट काँग्रेस जिल्ला सभापति जितबहादुर शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच यहाँ प्रतिस्पर्धा छ। घर्तीलाई एमालेले समर्थन गरेको छ। यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन्। ४१ हजार दुई सय २७ मतदाता रहेको क्षेत्र नम्बर २ प्रदेश सभा ख मा गठबन्धनबाट काँग्रेस नेता दोर्णकुमार कुँवर र एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन उम्मेदवार छन्।  

उनीहरुसंगै जनता समाजवादी पार्टीका जंगबहादुर घर्ती, मंगोल नेश्नल अर्गनाईजेसनका ताराबहादुर घर्ती, स्वतन्त्र उम्मेदवारह नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि प्रतिस्पर्धामा छन्। यस पटकको निर्वाचन बागलुङका तीन उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने भएका छन्। बागलुङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवार चित्रबहादुर केसी, क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार देवेन्द्र पौडेल क्षेत्र नम्बर २ प्रदेश क का उम्मेदवार जितबहादुर शेरचनले आफैलाई मतदान गर्न नपाउने भएका हुन्। आफ्नो मतादता नामावली भएको भन्दा फरक क्षेत्रबाट उम्मेदवार बनेकाले आफैलाई मतदान गर्न नपाएका हुन्।

चित्रबहादुर केसीको तिलोत्तमा नगरपालिका रुपेन्देहीमा मतदाता नामावली छ। पौडेलको क्षेत्र नम्बर १ का अमलाचौरमा शेरचनको क्षेत्र नम्बर २ प्रदेश ख अन्तर्गत गर्ने ढोरपाटनमा मतदाता नामावली रहेको छ। निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि दुई हजार ७ सय ९० कर्मचारी र स्वयंसेवक खटिएका छन्। नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब दुई हजार सुरक्षाकर्मी साथै सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइएको छ। विगतको निर्वाचनलाई समीक्षा गरेर आवश्यकता अनुसार सुरक्षा प्रवन्ध बलियो पारिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए।  

प्रकाशित: ४ मंसिर २०७९ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App