आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका लगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जनाए।
दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका एक सय ५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो।
भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मचारी र शिक्षक गरी एक हजार दुई सय ४६ कर्मचारी खटाइएको छ भने म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन सुरक्षाका लागि सबै तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। ‘हामीले म्यादी प्रहरीसहित तीनवटै निकायबाट सुरक्षाकर्मी परिचालन गरिसकेका छौं। निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि कर्मचारीसहित सबै व्यवस्थापन गरिएको छ’ उनले भने।
निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन्। मतदाताका आधारमा मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले बताए। मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भंग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्नेछन्।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा ५९ हजार दुई सय ५३ महिला र ६४ हजार एक सय २५ पुरुष गरी कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन्। प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रासस
प्रकाशित: ३ मंसिर २०७९ ०२:३५ शनिबार