प्रहरीको योग शिविर
काठमाडौं- नियमित पिटी र परेड चल्ने प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार बिहान फरक दृष्य देखियो। फैजको पिटी परेड गर्दै आएका प्रहरी अफिसर तथा जवानहरु योगा गर्दै थिए।
१६ वर्षदेखि नियमति फैजको ब्यायम गर्दै प्रहरी सहयक निरीक्षक राजेन्द्र थापा सहभागिमध्ये एक हुन्। उनले शिविरबाट १६ वर्षको प्रहरी जागिरमा योग अभ्यास वैज्ञानिक तथा स्वास्थ्यलाई फाइदाजनक भएको महशुस गरे। अभ्यासमा सहभागी हुँदै गर्दा उनले भने, ‘यहाँ नयाँ अभ्यास सिक्न र विभिन्न रोगको प्राकृतिक उपचारविधि बारे जानकारी पाइयो। १६ वर्षदेखि प्रहरी सेवामा छु। हामीले नियमित अभ्यास त गरेकै थियौं। तर, योगले छुट्टै आनन्द महशुस भयो।’
नेपाल प्रहरी र पतञ्जली योग समिति नेपालको संयुक्त आयोजनामा भएको योग शिविर प्रहरीले नियमित परेड खेल्ने मैदानमा भएको थियो। गत फागुन ३० गतेदेखि संचालित पाँच दिने योग विज्ञान शिविरको बुधबार समापन भएको हो।
पतञ्जली योग समिति नेपालका २ सय जना प्रशिक्षकहरुबाट फागुन १४ गते योग यात्रा महाकालीवाट शुरु भै नेपाल भरमा रहेका नेपाल प्रहरीको तालिम केन्द्र, गण गुल्महरु तथा इकाईहरुमा सन्चालन भएको थियो। योग यात्रामा विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीहरुलाई योग अभ्यास गराई फागुन ३० गतेबाट प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा योग शिविर संचालन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले योग अभ्यासलाई प्रहरीको तालिम पाठ्यक्रममा समावेस गर्ने तयारी भइरहेको बताएका छन्। ‘योगले सेवाभाव जागृत गराउनुका साथै मानसिक एवं शारीरिक तनाबबाट मुक्त हुने भएकाले चौबिसै घण्टा कार्यक्षेत्रमा खटिने प्रहरीका लागि योग आवश्यक छ,’ उनले भने।
पतञ्जली योग समिति नेपालका संरक्षक तथा योग शिविरका संयोजक पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले मानव जीवनका हरेक प्रतिकुलतामा योगले अनुकुलता ल्याउने हुँदा यसलाई जीवन शैलीकारुपमा विकास गर्दै लैजानु पर्ने बताए।
योगमा प्रहरी महानिरीक्षक अर्यालका साथै, पूर्व प्रहरी महानिरीक्षकहरु हेम बहादुर सिंह, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा श्रीमती संघका पदाधीकारीहरु लगायतको सहभागिता रहेको थियो।
सबै तस्बिर : अशोक पौडेल