प्रेमिल बगैंचा
केशरमहल, काठमाडौंको स्वप्न बगैंचा। बेग्लै संसारको अनुभूति। प्रायः तन्नेरी अँगालोमा कस्सिन्छन्। कोहीकोही ती दृश्य देखेर जिब्रो टोक्छन्। कसैलाई कसैको मतलब छैन। सबै आ–आफ्नै धुनमा।
उन्मुक्त भएर माया साटासाट गर्ने थलो। सुख र दुःख बिर्साउने चौतारी। तन्नेरीको भिड। भर्खर–भर्खर प्रेममा हेलिएकाहरू आँखामा मायाको गुराँस फुलाउँछन्। जीवनका सपना बुन्छन्। जिस्कन्छन्। चल्छन्। रमाउँछन्। मिठा क्षण क्यामेरामा कैद गर्छन्।
रोमान्टिक माहोल। शान्त वातावरण। रङबिरङका फूल। हरिया बोटबिरुवा। पानीका फोहरा। बिजुलीको उज्यालोमा झनै रमाइलो। बिहान ९ बजे देखि राति १० बजेसम्म खुल्छ बगैंचा।
सबै उमेरका नेपाली पुग्छन्। बढीजसो युवा। विदेशी पनि बाक्लै हुन्छन्। उनीहरू किताब पढिरहेका वा ल्यापटपमा खेलिरहेका देखिन्छन्। घन्टौं बस्छन्। भोक लागे छेवैको केशर क्याफे छिर्छन्। त्यहाँ बाहिरबाट पानी र हल्का स्न्याक्स मात्र लान पाइन्छ।
खुल्ला नाट्यशालाअगाडि म्याट्रेस र सिरानीमा ढल्कने सुविधा छ। आपत्तिजनक क्रियाकलाप नहोस् भनेर दुई जना गार्ड हरपल घुमिरहन्छन्। तर, अँगालो मार्नु र ओठ जोड्नु सामान्य देखिन्छ त्यहाँ।
बगैंचामा तीन ऋतु झल्काउने सदन छन्। वसन्त, वर्र्षा र गृष्म सदन। टिकट काउन्टरसँग जोडिएको गृष्म सदन। केशर क्याफेले वसन्त सदनमा टी शैलुन चलाएको छ भने वर्षा सदनमा बार।
ग्रिक शैलीमा बनेका भवन। वास्तुकलाको अनुपम नमुना। वर्षा सदनअघि लक्ष्मीको मूर्ति छ। बेग्लै स्वरूपको। सुरुमा ग्रिक विजयकी देवी नाइकको मूर्ति बनाइयो, पछि परिमार्जन गरेर समृद्धि र धनकी देवी लक्ष्मीको रूप दिइयो।
फिल्ड मार्शल केशर शमशेर जबराले बनाएको बगैंचा। भएछ के भने उनी बेलायत भ्रमणमा छँदा त्यहाँका राजा इडवार्डको बगैंचामा पुगेछन्। आफ्नो निवासमा त्यस्तै बनाउने उनले सपना देखे। तिहारको लक्ष्मी पूजाका दिन पिता चन्द्र शमशेरसँग कौडा खेल्दा लाख रुपैयाँ जिते।
त्यही पैसाले बगैंचा बनाए। सन् १९२० मा बगैंचा बनाउन सुरु गरियो। सिंहदरबारको संरचना डिजाइन गर्ने वास्तुविद् किशोर नरसिंह र कुमार नरसिंह राणाले स्वप्न बगैंचा डिजाइन गरेका हुन्।
बगैंचामा छ ऋतु झल्कने सदन, पोखरी, बरन्डा, परगोला र चरा बास बस्ने घर बनाइयो। सदनहरू आराम गृह हुन्। जसका भित्ता र छतमा कलाकृति छन्। वसन्त सदनअगाडि हात्तीका प्रतिमा छन्।
बगैंचा पर्यटन प्रोडक्ट बनेको छ। विडम्बना! छमध्ये तीन ऋतु झल्काउने सदन अस्तित्वमा छैनन्। हेमन्त, शरद र शिशिर ऋतु पश्चिमपट्टि थियो। ती ठाउँमा अग्लाअग्ला भवन बनिसके। आज बगैंचा १२ रोपनीमा खुम्चिएको छ।
केशर शमशेरको निधनपछि बगैंचा नेपाल सरकारको स्वामित्वमा आयो। सर्वसाधारणका लागि बगैंचा सन् २००६ अक्टोबरबाट खुला गरिएको। त्यसभन्दा पहिले अस्ट्रियन सरकारको सहयोगमा इको हिमालले सन् २००० देखि सात वर्ष लगाएर यसको पुनःनिर्माण गरेको थियो।
बगैंचा सरकारको स्वामित्वमा छ। शिक्षा सचिव अध्यक्ष हुने स्वप्न बगैंचा विकास समितिले त्यसको व्यवस्थापन हेर्छ। बगैंचामा १७ कर्मचारी छन्। त्यहाँ निजी तथा सामूहिक समारोह गर्न पाइन्छ। खुल्ला नाट्यशालामा ३५० जनासम्म अटाउँछन्। ठाउँ भाडामा लिन महँगै शुल्क तिर्नुपर्छ।
बगैंचाका इन्चार्ज दिमेश कर्माचार्यका अनुसार बिदाका दिन दैनिक चार सय र अरू दिन दुई सय जनाको हाराहारीमा बगैंचा घुम्न आउँछन्। भित्र पस्न सय रुपैयाँको टिकट काट्नुपर्छ। पाँच देखि ११ वर्ष र ७० उमेर नाघेकाले आधा तिरे पुग्छ। काउन्टरमा कोसेलीस्वरूप टिशर्ट र पोस्टकार्ड बिक्रीमा राखिएको छ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक वास्तुकला र रोमान्टिक वातावरणको संगम भएकाले स्वप्न बगैंचा घुम्नेहरू दिनदिनै बढ्दै छन्। दरबारिया केशर शमशेरले आराम गर्न बनाएको बगैंचा आज सर्वसाधारणको पहुँचमा पुगेको छ।
त्यहाँ मायाको फूल फुलेको छ। विशेषतः प्रेमिल मनहरूले केशर शमशेरलाई मनमनै धन्यवाद भनिरहेछन्।