मेथ्लाङ रक गार्डेन
कोलाहलभन्दा टाढा गाउँलेपनमा रमेको बस्ती। जहाँबाट अन्नपूर्ण र माछापुच्छे्र हिमाल, सूर्योदय र सूर्यास्तको लोभलाग्दो दृश्य देखिन्छ। सबैभन्दा अनौंठो त डाँडामा रक गार्डेन छ। थरीथरीका आकृति झल्कने काला ढुंगा ठिङ्ङ उभिएका। वर्षौंको घामपानीले खिइएका।
स्थानीय रुद्रप्रसाद तिमल्सिनाको जग्गामा अनौठा ढुंगा छ। उनले त्यसलाई रक गार्डेन रिसोर्टमा परिणत गरेका छन्। त्यहाँ सात वटा कटेज छन्। दुइटा कटेज चट्टानमा जोडेर बनाइएका। ‘यस्ता कटेज विदेशीले मन पराउँछन्,' रिसोर्ट सञ्चालक राजु थापा क्षेत्री भन्छन्, ‘रक गार्डेन हेर्न भनेरै धेरै नेपाली आउँछन्।'
रक गार्डेनमात्रै होइन, त्यहाँ रक क्लाइम्बिङ सुविधा पनि छ। २३ मिटर अग्लो चट्टानमा पोखराको थ्री सिस्टर एडभेन्चरले रक क्लाइम्बिङ गराउँछ। विदेशी चट्टान आरोहण गर्छन्। उनीहरूले नेपाली तन्नेरीहरूलाई रक क्लाइम्बिङमा प्रोत्साहित गर्न बाँकी छ। गर्नुपर्छ।
बेलायती जोडी टम केन्ट र बेथ टनाले केही दिनपहिले त्यो अनुभव सँगाले। अन्नपूर्ण क्षेत्रको पुनहिल पदयात्राबाट फर्केर उनीहरूले चट्टान आरोहण गरेका। चट्टानमुन्तिर डोरी समातेर बसेका केन्टले भने, ‘राम्रो दृश्य देखिने ठाउँमा राम्रै चट्टान रहेछ।'
गाउँमा हाइकिङ र माउन्टेन बाइकिङ गर्न सकिन्छ। कति विदेशी यही बाटो सराङकोट हाइक गर्छन्। लेकसाइडबाट मेथ्लाङ हुँदै अढाइ घन्टामा सजिलै सराङकोट पुगिन्छ।
साइक्लिङ गर्नेहरू पनि रमाउँछन्। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष तारानाथ पहारी बेलाबेलामा माउन्टेन बाइकमा गुड्छन्। ‘बिहान लेकसाइडबाट लभ्ली डाँडा हुँदै मेथ्लाङ पुगेर हल्लनचोक झर्न रमाइलो हुन्छ,' उनी भन्छन्, ‘धेरैपटक साइक्लिङ गरिसकेको छु।'
डाँडामा बसेर हिमालतिर हेर्दा आकाशमा रङबिरङका ग्लाइडर देखिन्छन्। तीसँगै चील बतासिन्छन्। प्याराग्लाइडिङ गर्नेहरू टाउकैमाथि उडेर जान्छन्। त्यो देख्दा निकै रमाइलो लाग्छ।
मेथ्लाङ चम्किँदै छ। विशेषतः बिदाका दिन पोखरेली गाउँतिर उकालिन्छन्। वनभोज खानेहरू उत्तिकै हुन्छन्। मर्निङ वाक गर्नेहरू धेरै हुन्छन्। ‘दिनभर डाँडामा बसेर लोकल कुखुरा खाएर रमाइलो गर्छन्,' होटल अन्नपूर्ण भ्युका सञ्चालक रामप्रसाद गौतम भन्छन्, ‘लामो समय बिदा मनाउन परिवारसहित आएका विदेशी यता बस्छन्।'
डाँडामा धमाधम होटल थपिँदै छन्। लगानी बढ्दै छ। कृष्ण दुवाडीले नेचर टच कटेज खोलेको वर्ष दिन भयो। रसियन समूह भव्य रिसोर्ट बनाउँदै छ। एकै रात मेथ्लाङमा ५० जना बस्न सक्छन्।
पोखरा बजारभन्दा शीतल। बाहुन समुदायको बस्ती। बारीमा मुला, काउली, बन्दा, धनियाँ, गाजर, रायोलगायत तरकारी लहलह छन्। गाइभैंसीको दूध, दही र मोही पनि पाइन्छ।
मेथ्लाङ उकालिने ठाउँ सेदी हाइटमा पनि राम्राराम्रा होटल र रिसोर्ट खुलेका छन्। केही बन्दै छन्। समग्रमा पोखरा फैलँदै छ। पर्यटनको ताप गाउँगाउँसम्म पुग्दै छ। यो खुसीको कुरा हो।
पारिवारसँगै बिदा मनाउन उपयुक्त गन्तव्य बन्न सक्छ मेथ्लाङ। स्थानीय पर्यटनकर्मीले सबैभन्दा पहिला पोखरेलीलाई लोभ्याउनुपर्छ। साथै लेकसाइडका होटल तथा रेस्टुराँमा मेथ्लाङको सौन्दर्य झल्कने तस्बिर प्रदर्शन गर्न सके विदेशी ह्वात्तै बढ्न सक्छन्।
कसरी पुग्ने : पोखराको जिरो किलोमिटरबाट पर्स्याङ हुँदै लभ्ली हिल भएर मेथ्लाङ पाँच किमि। त्यस्तै फेवाकिनारको हल्लनचोकबाट सेदी हुँदै उकालो चढे पनि पाँच किमि।
साहसिक गन्तव्य
रामप्रसाद गौतम, पर्यटनकर्मी
पोखरा बजारमै बस्ने कतिलाई हाम्रो गाउँको विषयमा थाहै छैन। हामी नेपाली र विदेशी दुवै पर्यटक गाउँ भिœयाउन चाहन्छौं। मेथ्लाङ बिस्तारै चिनिँदै छ। रक क्लाइम्बिङजस्तो साहसिक खेल खेल्ने थलोका रूपमा मेथ्लाङको चिनारी फैलाउनुपर्छ। राम्राराम्रा होटल र रेस्टुराँ अझै खुल्नुपर्छ।